जाजरकोटमा अबैध घरेलु जाँडरक्सी नष्ट

 जेठ १९, २०७५ शनिबार १७:३०:१६ | बालकुमार शर्मा

जाजरकोट – जाजरकोटमा प्रहरीले शुक्रबार १०० लिटर घरेलु जाँडरक्सीसहित जाँडरक्सी बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ ।

प्रहरीले तीन महिना यता रोकिएको घरेलु मदिरा नष्ट गर्ने अभियान नयाँ प्रहरी नायब उपरीक्षक सरुवा भएर आएसँगै शुरु गरेको हो ।

स्थानीयहरुसँगको सल्लाहपछि स्थानीय स्तरमा उत्पादन भैरहेको घरेलु जाँडरक्सी नष्ट गर्ने अभियान शुरु भएको हो । जेठ १६ गते देखि भेरी नगरपालिकाबाट यो अभियान सुरु गरिएको र बिस्तारै जिल्लाभरका प्रहरी युनिट परिचालन गरिने जिल्ला प्रहरी कार्यालय जाजरकोटकन प्रहरी नायब उपरीक्षक राजेन्द्र सिंहले जाकारी दिनुभयो ।

जाजरकोट भेरी नगरपालिका–३ र ४, युरी र बोहरागाउँबाट जाँचको क्रममा बरामद गरी नियन्त्रणमा लिएको अबैध घरेलु रक्सी मालिका सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय राजनैतिक दलका प्रतिनिधी, नागरिक समाज, आमा समूह, बुद्धिजीवी तथा समाजसेवी समेतको उपस्थितिमा कार्यालयको हाताभित्र सुरक्षित तवरले नष्ट गरेको जाजरकोट प्रहरीले जनाएको छ ।

अभियानका क्रममा अबैध घरेलु जाँडरक्सी १०० लिटर, जाँडरक्सी बनाउने कच्चा पदार्थ ३०० लिटर तथा रक्सी बनाउन प्रयोग हुने औषधी ३० किलो नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नागरिक अगुवा राजेन्द्र बिक्रम शाहका अनुसार पुराना प्रहरी नायब उपरीक्षक भावेष रिमाल जाजरकोटवाट सरुवा भएर नयाँ प्रहरी नायब उपरीक्षक आएपछि यो अभियानले निरन्तरता पाएको हो । घरेलु जाँडरक्सी नियन्त्रण र नष्ट गर्ने अभियानसँगै स्थानीय महिलाहरुले सकारात्मक कामको निरन्तरता भएको प्रतिक्रिया दिएका छन् । अधिकांशले रोकिएको काम सुुरु भएपछि खुशी समेत व्यक्त गरेका छन् ।

अन्तिम अपडेट: चैत ८, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया