लमजुङे महिलाले तीज गीतबाटै भने- ‘कञ्चनपुरकी  निर्मलाले न्याय पाइनन्’

 भदौ १७, २०७५ आइतबार १९:५:४४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङका महिलाहरुले तीज गीतबाटै महिला हिंसा, अत्याचार, बलात्कार, दाईजो प्रथा, छाउपडी प्रथाका विरुद्धमा आवाज उठाएका छन् । 

सुन्दरबजार नगरपालिका–५, समीचौतारामा आइतबार आयोजित खुला तीज गीत प्रतियोगितामा सहभागी विभिन्न महिला समूहहरुले महिला तथा बालिकामाथि हुने गरेको हिंसाविरुद्ध गीतबाटै आवाज उठाएका हुन् ।

स्थानीय विद्याज्योति माविको हिरक महोत्सवको अवसरमा तीज गीत प्रतियोगिता सञ्चालन गरिएको हो ।

विद्याज्योति हिरक महोत्सव साँस्कृतिक उपसमितिको आयोजना एवम् सुन्दरबजार नगरपालिका महिला शाखा र सुन्दरबजार नगरपालिका वडा नं ५ को सहयोगमा  तीज गीत प्रतियोगिता सञ्चालन गरिएको हो ।

पछिल्लो समय समाजमा बलात्कारका घटना बढ्दै गएको, महिला तथा बालिकाहरु त्रसित बन्नुपरेको तीतो यथार्थ स्मरण गर्दै अन्याय र अत्याचारका विरुद्ध तीज गीतबाटै आवाज उठाउनुपरेको महिलाहरुले बताएका छन् ।


मञ्चमा उक्लनेबित्तिक्कै विद्याज्योति माविका विद्यार्थी समूहले भाका फिराएरै गाए ।

नारी र पुरुष हो बराबर
सबै काम गर्नलाई एकै सार
 
किन त नेपाली समाजमा
नारीलाई छ यस्तो अत्याचार.........

 
दाईजोप्रथातर्फ लक्षित हुँदै उनीहरुले यो पनि गाए ।


छोरीलाई शिक्षा नदिई दाईजो दिनुपर्ने
कस्तो चलन दाईजो नभए जिउँदै जलाई मार्ने .....
 

त्यसैगरी, प्रतियोगितामा सहभागी स्थानीय पञ्चशील तामाङ आमा समूहका महिलाहरुले देशमा अपहरण, महिला हिंसा, बलात्कार लगायतका घटना बढ्दै गएकोप्रति लक्षित गर्दै यस्तो तीज गीत गाए ।  
 
महिला हिंसा बलात्कार बढ्दै गा छ देशमा
कसैको ध्यान पुग्दैन किन यसमा
 
अपहरण महिला हिंसा, बलात्कारी सारो भो
महिला र बालबालिका बाँच्नै गाह्रो भो
 
महिला र बालबालिका सुरक्षित रहेन
आफ्नै बाबा दाजुभाइको विश्वास भएन

 
जसको पहुँच जो छ धनी उसलाई कानुन लाएन
कञ्चनपुरकी निर्मलाले न्याय पाएन
 
संविधानमा हामीले एउटै कुरा लेख्नु छ
अपराधीलाई फाँसी दिने कानुन लेख्नु छ ......

प्रतियोगितामा सहभागी महिला समूहले तीज गीतमा मुलुकमा घटेका वर्तमान घटनाका विषयमा केन्द्रित रही गीत गाएको प्रतियोगिताको निर्णायक मण्डलकी  एक सदस्य एवम् सुन्दरबजार नगरपालिका महिला शाखा सुन्दरबजारकी प्रमुख निर्मला पण्डितले बताउनुभयो ।

‘महिला हिंसा, अन्याय, अत्याचार अन्त्य हुनुपर्नेमा उनीहरुको गाएको गीतले जोड दिएको छ,’ उहाँले भन्नुभयो ।

महिलाहरुले आफूमाथि भएको अन्यायका विरुद्धमा गीतबाटै आवाज उठाएकोमा खुशी व्यक्त गर्दै विद्याज्योति माविका प्रअ सूर्यबहादुर केसीले महिला तथा बालबालिकामाथि हुने अन्याय, अत्याचारको अन्त्य हुनु जरुरी रहेको बताउनुभयो ।

प्रतियोगितामा ७ महिला समूहले सहभागिता जनाएका थिए । 

प्रतियोगिताको निर्णायक मण्डलकी अर्का सदस्य एवम् सामाजिक परिचालिका श्यामका रेग्मीका अनुसार प्रतियोगितामा विद्याज्योति माविको विद्यार्थी समुह प्रथम, पञ्चशील तामाङ आमा समूह द्धितिय र जनचेतना आमा समूह तृतीया भएका छन् ।

विजेता समूहहरुले प्रथम, दितीय र तृतीयले क्रमश: नगद १५ हजार, १० हजार र ७ हजार रुपैयाँ पुरस्कारस्वरुप पाएका छन् । समीचौतारामा तीजको गीत सुन्न र नाच हेर्न आउनेहरुले घुइँचो लागेको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया