प्रधानमन्त्रीले बोल्ने उखानको बोट झापामा कहाँ छ मलाई पनि थाहा छ : कांग्रेस प्रवक्ता शर्मा

 जेठ १९, २०७५ शनिबार १८:२२:३२ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षको भूमिका कांग्रेसका लागि सच्चिने सुनौलो अवसर भएको बताउनुभएको छ ।

नेपाल शिक्षक संघको २९ औँ प्रतिनिधिसभालाई सम्बोधन गर्दै शर्माले प्रतिपक्षमा बसेर बिग्रेको कांग्रेस सुधार्ने अहिले नै सबैभन्दा राम्रो अवसर रहेको बताउनुभयो । लोकप्रियताको लागि कम्युनिष्टहरुले नारा मात्रै बेच्ने गरेको भन्दै शर्माले उनीहरुकले नारा लगाउनु र काम गर्नुको अन्तर अब थाहा हुने बताउनुभयो । 

शर्माले मदन भण्डारीको जनताको बहुदलीय जनवाद आत्मसाथ गरेको एमालेले मदन भण्डारी मरेको २५ वर्षपछि उनको विचारलाई समेत मारेको आरोप लगाउनुभयो । शर्माको विचारमा भौतिक रुपमा मदन भण्डारी मरेको २५ वर्षमै जेठ ३ गते पार्टी एकीकरणका नाममा मदन भण्डारीको विचारलाई समेत मारियो । शर्माले भन्नुभयो–‘कम्युनिष्टहरु आफ्नै कामका कारणले चाँडै पतन हुन्छन् ।’ 

उहाँले एकपटक चुनाव हार्दैमा नआत्तिन काँग्रेस कार्यकर्ताहरुलाई आग्रह गर्दै पात झर्दैमा रुख नसुक्ने विचार व्यक्त गर्नुभयो । अहिले कम्युनिष्टको आँधीहुरी आएको भन्दै शर्माले केही हाँगा भाँच्चिदैमा कांग्रेस नमर्ने बताउनुभयो । प्रवक्ता शर्माले कांग्रेस कार्यकर्ताहरुलाई रुखको जरा बनेर अडिग रहन उहाँले आग्रह गर्दै रुखको जराले रुखलाई कहिल्यै नछोड्ने बरु रुखसँगै जन्मने अनि रुख सँगै मर्ने बताउनुभयो । 

प्रधानमन्त्री जस्तो व्यक्तिले हरेक कुरालाई हल्का टिप्पणी गर्ने गरेको भन्दै शर्माले प्रधानमन्त्रीलाई जिम्मेवार भएर बोल्न आग्रह गर्नुभयो । केही दिन अघि प्रधानमन्त्री ओलीले कांग्रेसलाई कसैले बोर्नभिटा खुवाएर हुर्काएको बताएका थिए । 

ओलीको अभिव्यक्ति प्रति लक्षित गर्दै शर्माले कम्युनिष्टहरुलाई कांग्रेसले विभिन्न समयमा सेरेल्याक खुवाएको र अहिले हुर्किएको बताउनुभयो । ‘म पनि झापाकै हूँ’, शर्माले भन्नुभयो, ‘झापामा उखानको बोट कहाँ छ मलाइ पनि थाहा छ ।’

अन्तिम अपडेट: चैत २२, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया