अँध्यारोले अँध्यारोलाई सहारा : दृष्टिविहीन दम्पतीका कथा

 भदौ १८, २०७५ सोमवार ८:७:८ | बेदानन्द जाेशी
unn.prixa.net

‘आदमीका खुदमे भरोसा उसकी ताकत होती है । तुम और मै हम कमजोर नहि है । तो फिर तुम साथ आने मे डर क्यूँ रही हो ?’ हिन्दी चलचित्र ‘काबिल’ मा ‘सुप्रिया’ले आफूसँग बिहे गर्न चासो नदेखाउँदा ‘रोहन’ले बोलेको ‘डाइलग’ हो यो । त्यसको प्रतिउत्तरमा सुप्रियाले घतलाग्दो जवाफ दिन्छिन्, ‘क्युं की अँधेरा अँधेरेको रोशन तो नहि कर सकता ना ।’ 

सुप्रियाको भूमिकामा नायिका यमी गौतम र रोहनको भूमिकामा सुपारस्टार ऋतिक रोशनले खेलेको यो चलचित्र दृष्टिविहीनको जीवन संघर्षको एक प्रतिनिधि चलचित्र मात्र हो । दृष्टिविहीन जोडीहरुका यस्ता संघर्षका कथा सुन्ने र हेर्ने हो भने काठमाडौंका सडक पेटी हिँड्दा पुग्छ । सडकमा कतै विष्णु परियार र लिला दाहालसँग भेट हुन्छ । यस्तै भिम ठटाल र दिपा पौडेल अनि भिमबहादुर तामाङ र कल्पना तामाङलाई पनि भेटिन्छ । यी दृष्टिविहीन जोडीहरुको दाम्पत्य जीवन कम्ता संघर्षले भरिएको छैन । 

कुनै पनि सुन्दर वस्तु तथा दृश्यलाई हेरेर सबैले आहा भन्छन् । तर जसले आँखा नै देख्दैनन्, उनीहरुले के भन्नलान् ? कसरी अनुभव गर्लान् यसको सौन्दर्यता । देख्दै नदेखी कसरी पर्छ होला कसैसँग प्रेम ? एकअर्कालाई देख्दै नदेखी कसैलाई जीवनसाथीको रुपमा कसरी स्वीकार गर्छन् होला उनीहरु ? आफनो परिवार छाडेर किन भागेर बिहे गर्थिन होली कथित उपल्लो जात मानिने बाहुनकी छोरी दलितको छोरासँग । 

पारिवारिक कठिनाईमा आफू उनीहरुको बोझ बन्न नचाहने मानसिकता प्रायः सबैमा हुन्छ । झन दृष्टिविहीनहरुलाई यसको पिरलो बढी हुँदो रहेछ । झापाकी लीला दाहाललाई पनि यस्तै लागेको थियो । समयसँगै उनमा पनि परिपक्वताले गाँज्दै थियो । बुवाआमाले कोसँग बिहे गराइदिने हुन भन्ने आशंका उनको मनमा उब्जिन्थे । 

भावनाका लाभाहरु तरंगित बनेर पग्लिन पुग्थे, अनि गाउने गर्थिन् र मन हलुका पार्थिन् । सधैं बुवाआमाको बोझ भएर बाँच्न उनलाई मन लागेन । अनि आफ्नो गुजारा चलाउन गाउँदै हिँड्न थालिन् । यसै क्रममा उनको भेट लमजुङका विष्णु परियारसँग पोखरामा भयो । विष्णु परियार पनि दुईवटै आँखा नदेख्ने भएकाले यसैगरी सडकमा गीत गाउँदै हिंड्थे । 

‘घरमा बुवा आमा, दाजु भाउजू त हुनुहुन्छ, तर सधैं कति मलाई यो चाइयो उ चाइयो भनेर मागिराख्ने’ विष्णुले भन्नुभयो, ‘अब त आफैं पैसा कमाउनुपर्यो अनि गुजारा चलाउनुपर्यो भनेर गाउँदै हिँड्न थालें ।’

सडकमा गीत गाउँदै हिँड्ने क्रममा उनीहरुको प्रेम बस्यो, अनि बिहे पनि गरे । ‘भगवानले जोडी ठ्याक्कै मिलाईदिंदो रहेछ’ लीलाले हाँस्दै भनिन्, ‘जात नमिले के भयो, मन मिल्नु ठूलो कुरा हो । हामी दुईटैको समस्या त समान छ नि ।’ तर दुःखको कुरा, उनीहरुले आफनो परिवारसँग त्यो खुसी भने कहिल्यै साँटेनन् । बाहुनको छोरीले दलितसँग बिहे गर्यो भनेर रिसाएका लिला दाहालका परिवारले उनीहरुको बिहेलाई स्वीकारेन । बिहे भएको अहिले ६ वर्ष भइसक्यो । छोरा १ कक्षामा पढ्न थालिसक्यो । तर परिवारले भने अझै स्वीकार गरेको छैन । 

बिहेपछि पोखरा छाडेर काठमाडौं झरे । यहीं छोरा जन्म्यो । अहिले विष्णु परियार ३२ वर्ष र लीला दाहाल ३० वर्षको जिन्दगीको उकालो गोरेटोमा सँगै यात्रा गरिरहेका छन् । छोरालाई एसओएस बालग्रामले पढाइरहेको छ । बौद्धमा महिनाको चार हजार रुपैयाँ भाडा तिरेर बसिरहेका छन् ।

बिहान भालेको डाकोसँगै दिनभरीको जोहो गर्न एउटा माइक र स्पिकर बोकेर कोठाबाट निस्कन्छन् । लिला धक फुकाएर गीत गाउँछिन्, ‘सयौं जुनी पाउन सकिन्छ सकिन्न, यो जुनी त तिमीलाई नै भो.....।’ यसैमा विष्णु थप्छन्, ‘एकै जुनी बाँचौं मिठो माया साँचौं किन चाइयो सयौं जुनी त्यो.....।’

उनीहरुलाई  भविष्यमा के हुने कस्तो हुने हो भन्ने डर छ । तर छोराको आशा पनि छ । विष्णुले भने, ‘छोराले सम्झ्यो भने बुढेसकाल सजिलो हुने हो, नत्र त हामीजस्तो अन्धो मान्छेलाई बुढेसकाल श्राप हो ।’ लिलाले कुरा काट्दै ठट्यौली पारामा भनिन्, ‘छोराले नहेरे पनि बृद्धाश्रम जिन्दावाद ।’ उनको यो ठट्यौलीमा दृष्टिविहीनहरुको तीतो यथार्थता झल्किन्छ । 

अझै पनि  नेपालमा कतिपय दृष्टिविहीनहरु कोही वृद्धाश्रम त कोही सडकका पेटी जिन्दावाद भन्दै बाँचिरहेका छन्  । दृष्टिविहीनहरुको लागि सरकारले केही गर्न नसकेको गुनासो उनीहरुले गर्ने गरेका छन् । 

नवलपरासीका भिम ठटाल र प्युठानकी दिपा पौडेल पनि दृष्टिविहीन दम्पती हुन् । ठटाल जन्मजात दृष्टिविहीन नभए पनि १२÷१३ वर्षको उमेरमा टाइफाइड बिग्रेर यस्तो भएको हो । सानो सानो कुरामा पनि हाँस्न जानेका यो जोडीले पनि आफ्नो सांगीतिक लयलाई आम्दानीको माध्यम बनाएका छन् । कहिले सुन्धारा त कहिले बसपार्कमा गीत गाएर नै दैनिक जोहो टार्ने गर्छन् ।

सधैं मिलेर बसे पनि कहिलेकाहीँ भने दिपालाई झनक्कै रिस उठ्दो रहेछ । ‘मलाई झनक्क रिस उठ्छ’ दिपाले भनिन् ‘तर फेरि शान्त हुन्छु । हामीले रिस उठाउन थाल्यो भने त जिन्दगीलाई आफैंले ठगेजस्तो हुँदोरहेछ ।’ आँखाबाट आँसु खसाल्दै उनले थपिन्, ‘कतिबेला त यो जिन्दगी कति खल्लो र निरस लाग्छ ।’ 

साथीको माध्यमबाट भीम ठटालले दिपाको फोन नम्बर पाएछन् । ‘कुरा गर्दै गर्दा लभ पर्यो । अनि त के थियो र बिहे गर्यौं ।’ भिम ठटालले भने, ‘त्यतिबेला मलाई त जिन्दगी अब सुरु भयो जस्तो लागेको थियो । साँच्चै बिहे गरेपछि त दृष्टिविहीन हुनुको आधाभन्दा बढी पीडा हराउँदो रहेछ ।’

अहिले उहाँहरुका दुईटा छोरा छन् । दुईटै छोराहरु पुतलीसडकमा फुपुको घरमा बसेर पढ्दै छन् । एउटा एक र  अर्को एलकेजीमा । उनीहरु भने बसपार्कको मिलन टोलमा कोठा भाडामा लिएर बस्ने गर्छन् । 

अन्तिम अपडेट: भदौ २९, २०७५

तपाईको प्रतिक्रिया