आज गौरा पर्वको मुख्य दिन, धुमधामका साथ मनाईँदै

 भदौ १८, २०७५ सोमबार ९:७:४ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – गौरा पर्वको मुख्य दिन आज, प्रदेश ७ मा गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । आज अठ्यावली अर्थात् अष्टमी हो । यस दिन गौराको विषेश पूजाआजा गरी मनाउने चलन रहेको छ ।

प्रदेश ७ को मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुृरासँगै दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाईँदै छ । 

काम विशेषले घरबाट टाढा गएकाहरु पनि गौरा पर्व मनाउन घर फर्किएका छन् । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा पाँच प्रकारका अन्न भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् । जसलाई बिरुडा भन्ने गरिन्छ ।

विरुडा भिजाएर महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन भएको कारण यस पञ्चमीलाई बिरुडा पञ्चमी पनि भन्ने गरिन्छ ।

पञ्चमीका दिन भिजाइएको बिरुडा अर्को दिन षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर नुहाउने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ । अठ्यावलीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।

गौरा पर्वमा देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेलेर रमाईलो गर्ने चलन छ । देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरेर खेल खेलिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।

भदौ शुक्ल पञ्चमीका दिन गौरा पर्व आरम्भ हुने भए पनि गौरा विसर्जन भने हरेक ठाउँको आ–आफ्नै चलन अनुसार गर्ने गरिन्छ ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया