मेरा छोरी छैनन् : म अभागी कि भाग्यमानी !

 भदौ १८, २०७५ सोमवार १५:३३:५९ | मिलन तिमिल्सिना
unn.prixa.net

स्टुडियोमा समाचार पढेर बाहिर निस्केपछि एक महिला सहकर्मीले भनिन्, ‘बलात्कारको समाचार पढ्दापढ्दै मेरो त दिमागले काम गर्न छाडिसक्यो ।’ घरमा सानी छोरी समेत भएकी उनले थपिन्, ‘घर नपुग्दासम्म टेन्सन हुन्छ, बाउको पो के भर भो र ?’

घरमा हुर्किसकेकी छोरी भएका अर्का पुरुष सहकर्मीले छुट्टै चिन्ता व्यक्त गरे । उनले भने, ‘हिजोआज छोरीसँग नजिक हुन पनि अप्ठ्यारो लाग्छ । आफूलाई देखेर उ डराइरहेकी त छैन भन्ने मनमा लाग्दो रहेछ ।’

दिनहुँ बलात्कारका समाचार पढ्नुपर्दा छोरी भएका मेरा पुरुष र महिला सहकर्मी निकै चिन्तामा छन् । पुरुष सहकर्मीलाई छोरीको वरिपरि पर्न डर, महिला सहकर्मीलाई घरमा छोरी छोडेर हिँड्नुपर्दाको चिन्ता !

उनीहरुको चिन्ता देखेर कहिलेकाहीँ लाग्छ, म धेरै भाग्यमानी । किनकी मेरा छोरी छैनन् । मेरा महिला सहकर्मीलाई जस्तै मेरी श्रीमतीलाई मप्रति शंका छैन । मेरा पुरुष सहकर्मीलाई जस्तै घरमा छोरीले मलाई के सोच्छिन् होला भन्ने डर छैन ।

तर मेरो पो आफ्नो छोरी र बहिनी छैनन् । घरमा भाइका छोरीहरु छन् । काकाकाकी र दिदीहरुका छोरी छन् । छिमेकमा मैले बहिनी र छोरी भन्नुपर्ने अरु पनि धेरै चेलिबेटी छन् । कार्यालय, सडक र अरु ठाउँमा मैले माया र सम्मान गर्नुपर्ने छोरीचेली धेरै छन् । 

मेरो नजिक पर्दा उनीहरु पनि डराउँदा हुन् । बाबुले, हजुरबाले, काकाले, दाइले, आफन्तले, छिमेकीले बलात्कार गरे रे भनेर दिनहुँ समाचार सुनेका र पढेका उनीहरुलाई पुरुष देखेर घृणा लाग्दो हो । आफन्त देखेर पनि डर लाग्दो हो । जसरी घरमा छोरी भएका मेरा पुरुष सहकर्मीलाई डर छ, मलाई पनि छोरीचेली देख्दा यस्तै डर र आशंका पैदा हुन्छ ।

तर मनमा लाग्छ, मेरी छोरी भएको भए मैले उप्रति देखाउने व्यवहार फरक हुन्थ्यो । उसलाई बाबु मात्र होइन, विश्वास गर्ने साथी हो भन्ने छाप बसाल्थें । उसका हरेक गतिबिधि नियाल्थें । उसलाई आफूबाट मात्र होइन, परिवार, आफन्त, छिमेकी र अरुसँग डर पैदा हुने वातावरणको अन्त्य गर्थें । तर म कति अभागी, मेरी छोरी नै छैन ।

लाग्छ, छोरीलाई बलात्कृत हुन र मनमा डर पैदा हुनबाट जोगाउन बाबुआमा र परिवारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । अनि छोरालाई बलात्कारी बन्न नदिने दायित्व पनि बाबुआमा र परिवारकै हो ।

नेपालमा बलात्कारीलाई फाँसी नै दिने व्यवस्था नभए पनि दोषीलाई कडा कारबाही गर्ने कानुन छ । कतिपय दोषीले कार्बाही भोगिरहेका पनि छन् । तर कानुन र कारबाहीले मात्र यस्ता घटना कम हुन सकेका छैनन् । महिला अधिकारकर्मी लगायत विभिन्न संघसंस्थाले चलाएको अभियान पनि प्रभावकारी बन्न सकेको छैन । 

व्यक्ति, परिवार, समाज र राज्यले आफ्नो कर्तव्य र भूमिका त्यही ढंगले निभाउन नसकेसम्म यस्ता घटना कम हुने छाँट पनि देखिंदैन । एउटा पुरुषलाई बलात्कारी बन्न नदिन घरपरिवार, उ आफैं, समाज र राज्यको भूमिका महत्वपूर्ण हुन्छ ।

समाजशास्त्रीहरुका भनाई र प्रहरी अनुसन्धानअनुसार शिक्षा, चेतना र आर्थिक अवस्था कमजोर भएका पुरुषहरु बलात्कारका घटनामा संलग्न हुने गरेका छन् । यस्तै पोर्नोग्राफी पढ्ने तथा हेर्ने व्यक्तिले उत्तेजना मेट्ने सहज माध्यम पाएन भने सामाजिक मर्यादा तथा कानुनलाई समेत नजरअन्दाज गरी बलात्कार गर्न अग्रसर हुन्छ ।

अर्को कुरा सबै पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आउन जरुरी छ । मनोवैज्ञानिक डा. विलसनको भनाई छ, ‘एक असल पुरुषले आफूलाई महिलाभन्दा उच्च छु भन्ने अहम् राख्दैन ।

यसबाहेक पढेलेखेका र शिक्षित व्यक्तिहरुबाट पनि बालिका र किशोरी यौनजन्य हिंसाबाट पीडित हुन्छन् । माया गरेको निहुँमा बालिका र किशोरीलाई चिमोट्ने तथा चुम्बन गर्ने क्रियाकलाप अहिले जताततै छताछुल्ल भैरहेका छन् । तर यौन मनोविश्लेषक फ्रायडले भनेका छन्, ‘केही मानिस यस्ता हुन्छन्, जसले केटाकेटीलाई गर्ने प्रेमको माध्यमबाट मानसिक बलात्कारको आनन्द भोगिरहेका हुन्छन् ।’ यस्तै मानसिक विकार बढ्दै जाँदा बालिका र बृद्धा समेत बलात्कारमा पर्न सक्छन् । अहिले सार्वजनिक भैरहेका समाचार सुन्दा लाग्छ, कतै हाम्रो समाजमा यो विकार अति नै बढेको त होइन ?

त्यसैले एउटा पुरुषलाई बलात्कारी बन्नबाट रोक्न दण्ड, सजाय मात्रै पर्याप्त छैन । उसलाई बाल्यकालदेखि नै शिक्षा, चेतना, आचरण र अनुशासन सिकाउन जरुरी छ । एउटा बालक परिपक्क नहुँदासम्म उसलाई रेखदेख र असल मार्गमा हिँडाउने पहिलो दायित्व बाबु, आमा र उसको परिवारका अरु सदस्यको हो । उचित शिक्षा, असल चालचलन र बानी व्यहोरा, अनुशासन लगायत असल चरित्र हुन आवश्यक पर्ने सबै कुरा बालकले आफ्नो परिवारबाट पाउनुपर्छ । 

त्यसपछि नैतिक शिक्षा र आचरणका थप पाठ उसले स्कुलमा सिक्छ । घरपरिवार र स्कुलले उसका हरेक गतिविधि नियाल्दै उसलाई शिक्षा र सही मार्ग निर्देशन दिने हो भने उसले कहिल्यै पनि मनमा खराब भावना पाल्न सक्दैन । त्यसैले एउटा पुरुषलाई भोलि बलात्कारी बन्न नदिन उसलाई बाल्यकालदेखि नै घरपरिवार र स्कुलले खेल्ने भूमिका महत्वपूर्ण हुन्छ ।

९, १० कक्षा पढ्न थालेदेखि किशोरकिशोरीमा हुने विपरीत लिंगीप्रतिको आकर्षण स्वभाविक हो । यही स्वभाविक आकर्षणकै कारण कुनै किशोर बलात्कारी बन्न सक्दैन । सानैदेखि परिवार र स्कुलबाट सही शिक्षा र आचरण सिकेको छ भने मनको आवेग र भावनालाई  कसरी नियन्त्रण गर्नुपर्छ भन्ने उसलाई राम्रोसँग थाहा हुन्छ । 

असल चालचलन, अनुशासन र आचरण सिक्दै र व्यवहारमा ढाल्दै उच्च शिक्षा हासिल गरिसकेपछि उसको घरजम हुन्छ । कतै जागिर खान्छ या स्वरोजगार बन्छ । आफ्नो खुट्टामा आफैं उभिनको लागि मेहनत गरिरहेको युवालाई अरु नकारात्मक कुरा सोच्ने फुर्सद पनि हुन्न । छिमेकका र अरु ठाउँमा भेटिने चेलीबेटीलाई आदर र सम्मान गर्छ । कुनै चेलीबेटीलाई कसैले खराब दृष्टिकोणले हेर्न खोजेको थाहा पायो भने प्रतिवाद गर्छ । 

जब व्यक्ति आफू पनि असल चरित्रको हुन्छ र अरुलाई पनि असल चरित्रको बनाउन प्रेरित गर्छ भने समाजमा बलात्कारजस्ता आपराधिक क्रियाकलाप गर्न आँट गर्न सक्ने कोही पनि हुँदैन । पहिलो कुरा त सबै पुरुष शिक्षित, अनुशासित र रोजगार बन्नुपर्छ । अनुशासन र आचरण सिकाउने काम परिवार र समाजको हो । उसलाई रोजगारी दिने दायित्व राज्यको हो ।

अर्को कुरा सबै पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आउन जरुरी छ । मनोवैज्ञानिक डा. विलसनको भनाई छ, ‘एक असल पुरुषले आफूलाई महिलाभन्दा उच्च छु भन्ने अहम् राख्दैन । महिलालाई यौन साधन ठान्दैन । उ विवाहित वा अविवाहित जस्तो भए पनि आफ्नो उर्जालाई समाजको विकास र भलाइका लागि सदुपयोग गर्छ । एक असल पुरुषले बलात्कारको कल्पना पनि गर्न सक्दैन ।’

मनोवैज्ञानिक डा. विलसनको यही भनाईअनुसारको सोचाई भएका पुरुष भएको समाजमा बलात्कारका घटना हुन पाउँदैन । यसका लागि नागरिक शिक्षा, सामाजिक शिक्षा, यौन शिक्षा र मनोवैज्ञानिक परामर्श आवश्यक छ ।

यौन अनुशासनको पहिलो पाठशाला पुरुषको परिवार हो । परिवारले नै आफ्नो छोरोलाई बलात्कारी बन्न र छोरीलाई बलात्कृत हुनबाट जोगाउन सक्छ । परिवारका सदस्यमा पनि बाबुको भूमिका झनै महत्वपूर्ण हुन्छ ।

तपाईं र मैले आफ्नो छोरोलाई बलात्कारी बन्नबाट जोगाउने हो भने समाजमा बलात्कारजस्तो जघन्य र घृणित अपराध हुँदैन र दोहोरिंदैन । तर मेरो त छोरो पनि छैन । छोरो भएका तपाईंले आफ्नै छोराको लागि यति काम किन नगर्ने ? तपाईंको छोरो संस्कारी भयो भने तपाईंकी छोरी पनि सुरक्षित हुनेछिन् ।  


 

अन्तिम अपडेट: असोज ४, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया