एकैसाथ १३ जनाको मलामी : न नरुने कोही थिए,  न त नरोउ भन्ने नै

 जेठ १९, २०७५ शनिबार २०:५९:२७ | देव पचभैया

पाल्पा – सँगै हाँसखेल मात्रै होइन, व्यापार व्यवसायमा हातेमालो गर्दे अघि बढेका साथीहरु लहरै चितामा राखेको देख्दा पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठको भक्कानो फुट्यो  । 

उहाँले चितामा राखिएका सबै शवलाई नमस्कार गर्दै कालीनदीको पानी अञ्जुलीमा उठाएर मुखमा राखिदिनुभयो । जिन्दगीमा एकैपटक यति धेरै व्यक्तिको मलामी जानुपरेका श्रेष्ठ जस्तै राम्दीघाटमा पुगेका कसैकाे पनि आँसु थामिएकाे थिएन । 

शुक्रबार पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाएका एकै घरका दुई दाजुभाइसँगै १४ जनामध्ये १३ जनाको पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीघाटमा शनिबार अन्त्येष्टि गरिएको हो ।

मृतक मुना सारुको छोरा जापानबाट नेपाल फर्किदै गरेकाले उहाँको अन्त्येष्टि छोरा आएपछि मात्रै गरिने पारिवारले जनाएको छ । 

‘चितामा सुताइएका सबैलाई हेर्छु, चिनेका अनुहारमात्रै छन्’, मलामी गएका राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य मेत रहेका तानसेन वसन्तपुरका डुलबहादुर कुँवरले भन्नुभयो, ‘जिन्दगीमा कहिल्यै नबेहोरेको नमिठो अनुभब भयो ।’ घटनाको सत्यतथ्य छानबिन गरेर यथार्थ जानकारी बाहिर ल्याउनुपर्नेमा उहाँको माग छ । 

वसन्तपुरका अजय श्रेष्ठले एउटै बजारभित्रका यति धेरै जनाको एकैपटक ज्यान गएको घटना भूल्नै नसकिने पीडा बनेको बताउनुभयो । 

बजारभित्रका अधिकांश टोलका मानिस दुर्घटनामा परेकाले पाल्पा सदरमुकाम तानसेन बजार शोकमा डुबेको छ । कैलाशनगर, वसन्तपुर, भगवतीटोल, असनटोल, मखनटोल, सिलखानटोल,  टक्सारटोल, बसपार्क, बर्तुङसम्मका मलामी राम्दीघाट पुगेका थिए । 

‘शोकमा परेकालाई सान्त्वना दिन कसकोमा जाने भन्ने अन्यौल भएको छ’, पाल्पा उद्योग बाणिज्य संघका पूर्व महासचिव भिमसेन कार्कीले भन्नुभयो, ‘आफन्त र छिमेकी पनि अलमल परेका छन् ।’ 

अध्ययन भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सदस्य एवम् कर्मचारीसहित अतिथि चढेको बस रम्भा गाउँपालिका –४, हुमिनको धारादी वनमा शुक्रबार बिहान दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र उपचारका क्रममा ३ जनाको अस्पताललमा ज्यान गएको थियो । 

दुर्घटनामा सहकारी संस्थाका अध्यक्ष विष्णुमान बज्राचार्य र उहाँका भाइ सचिनसँगै  डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, कृष्णमान बज्राचार्य, क्षेत्रमान शाक्य, गिता बुढाथोकी, कमला कार्की, अधिवक्ता लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देबेन्द्र प्रधान, वसन्ती खाँड, दुर्गादेवी श्रेष्ठ र मुना सारुको  ज्यान गएको थियो । 

घाइते चार जनाको काठमाडौं र पाँच जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भैरहेको छ । 

 

अन्तिम अपडेट: चैत २७, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Om Raskoti magar

    June 3, 2018, 2:14 a.m.

    मूर्तक आत्मा प्रति हादिक श्रद्धांजलि

  •  0 Reply

तपाईको प्रतिक्रिया