कतारमा चर्पी सफा गर्दा रित्तो हात, गाउँमा भैंसीको गोबरले फलिफाप !

 भदौ १९, २०७५ मंगलबार ११:८:४६ | मेरो कथा मेरो भोगाई

मोतिराम आचार्य/खोटाङ, दिक्तेल ।

सानो छँदा पैसाको महत्व बुझिएन । बुवाआमासँग माग्दा भइहाल्थ्यो । तर समय कहाँ उस्तै हुँदो रहेछ र ! ठूलो भएपछि बुवाआमासँग पैसा माग्न पनि अप्ठेरो । काम नभएपछि खल्ती खाली हुँदा पनि अप्ठेरो नै । त्यसैले विदेशमा कमाउने सपना बुनेर म २०६० सालमा काठमाडौ गएँ । 

गाउँबाट काठमाडौं छिरेपछि सुरु भयो हण्डर र ठक्कर  । तीन पटक गरेर ३५ हजार रुपैयाँ सकियो, तर विदेश जान सकिएन । त्यसपछि एजेन्ट देवबहादुर राईलाई ६० हजार रुपैयाँ बुझाएर म मलेसिया लागें । 

महिनाको आठ सय रिंगिट तलब हुन्छ भनिएको थियो । कम्पनीमा फलाम पगाल्ने काम थियो । तर गएको एक महिनापछि मेडिकल गर्दा अनफिट देखियो । घर फर्किनु पर्‍यो ।

घर त फर्किएँ । तर सय कडा तीनका दरले काढेको ऋण कसरी तिर्ने ? विदेश नगई त उपाय नै भएन । अर्का हरि भन्ने एजेन्टलाई ८० हजार रुपैयाँ बुझाएर २०६४ सालमा कतार लागें । 

कतारमा चर्पी सफा गर्ने काम थियो । १३ महिनासम्म चर्पी सफा गर्ने काम नै गरेँ । आठ सय रियाल तलब हुन्छ भनेको थियो । पाँच महिना त आठ सय रियाल नै पाएँ पनि । तर पछि छ महिनाको तलब दिएन । तलब नै नदिने काम के गर्नु । मुदिर(म्यानेजर)सँग झगडा पर्‍यो । त्यसपछि नेपाल फर्किएँ ।

घर त फर्किएँ, तर साथमा पैसा हैन ऋण लिएर । अब दुईवटा देशमा पसिना बगाउँदा समेत कमाई उस्तै भएपछि विदेश जाने मेरो सपना चकनाचुर भयो ।

मैले दुःख पाएँ भनेर साहु चुप लाग्ने कुरा भएन । लिएको ऋण तिर्नै पर्यो । फेरि त्यहीबेला घरमा छोरा पनि बिरामी भयो । अंश बेचेर छोराको उपचार गराएँ । अलिअलि साहुलाई तिरें । अझै केही रकम तिर्न बाँकी नै छ । 

न विदेश फाप्यो, न घरखेत बाँकी रह्यो । अरुको खेतबारी कमाउन थालें । भैसी पालें । विदेशमा भन्दा यही काम पो फाप्न थाल्यो । अहिले त बाख्रापालन पनि सुरु गरेको छु । यही कामले नै मैले वर्षमा डेढलाख रुपैयाँसम्म कमाउन थालेको छु । 

गाउँघरमै काम गरेर ऋण तिरेँ । सदरमुकाम नजिकै घर पनि किनेको छु । भैंसीको दुध बेच्छु, खसीबाख्रा र कुखुरा बेच्छु । काममा परिवारले पनि सघाउँछन् । मलाई सहज पनि भएको छ । परिवारसँगै बसेर आम्दानी पनि भएको छ । 

दुई छोरालाई इटहरीमा राखेर पढाएको छु । विदेशबाट रित्तो हात फर्किए पनि अहिले गाउँघरमै गरी खाएको छु । 

(मोतिराम आचार्यसित सुरक्षित आप्रवासन सामि परियोजना नवकिरण सेवा समाज नेपालका सामाजिक परिचालक तारानाथ फुयलले गरेको कुराकानीमा आधारित ।)
 

अन्तिम अपडेट: कात्तिक १७, २०७५

तपाईको प्रतिक्रिया