योगमाया विश्वविद्यालय स्थापनाका लागि दबाब समिति गठन

 भदौ १९, २०७५ मंगलबार १४:२७:४४ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – योगमाया न्यौपानेको नाममा स्थापना हुन लागेको योगमाया विश्वविद्यालयको स्थापनाको लागि दबाब दिन षडानन्द नगरपालिका दिङ्लामा ५ सदस्यीय समिति गठन गरिएको छ । 

पूर्वसांसद नरेन्द्र बस्नेतको संयोजकत्वमा नगरपालिकाकी उपमेयर मेरिका राई, षडानन्द सिताराम गुठीका अध्यक्ष कृष्णप्रसाद पौडेल, समाजसेवी दिलकुमार राई र भिमबहादुर तामाङ्ग सदस्य रहेका छन् । 

योगमाया विश्वविद्यालय योगमायाको जन्म तथा कर्मभूमिमा स्थापना गरिनुपर्नेमा जोड दिँदै विश्वविद्यालय स्थापना गर्न धेरै जग्गा आवश्यक पर्ने भएकोले षडानन्द सिताराम गुठीको जग्गाको विधि र प्रक्रिया मिलाएर प्रयोग गर्नुपर्नेमा सहभागीले जोड दिए । गुठीका अध्यक्ष पौडेलले यसवर्ष गुठीको विधान संशोधन गरिएकोले षडानन्द योगमाया विश्वविद्यालय स्थापना गर्न लागि जग्गा व्यवस्थापन गर्न सकिने बताए ।

संघीय सरकारले आर्थिक वर्ष २०७५-७६ को बजेटमा विश्वविद्यालयको स्थापनाको लागि १० करोड बजेट विनियोजन गरेपछि भोजपुरसँगै संखुवासभा, सुनसरी र दाङलगायतका जिल्लाले पनि आफ्नो जिल्लामा योगमाया विश्वविद्यालय गरिदिनका लागि सरकार समक्ष पहल गरिरहेका छन् । 

नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवी, शिक्षक, व्यापारी लगायतको उपस्थिति रहेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया