पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
चार दिन अघिमात्रै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको अवसरमा राजधानी चिटिक्क सिंगारियो । मुख्य सडकमा खाल्डाखुल्डी पुरियो । सडकका दायाँबायाँ किनाराहरुमा रंगरोगन गरियो । हिलो लागेको भित्तामासमेत रंग पोतियो ।
यसअघि २०७१ साल कार्तिक महिनामा सार्क शिखर सम्मेलनको बेलामा पनि राजधानी दुलहीझैँ सजाइएको थियो । सडक सफा थिए । सडककको बीचमा हरियो दुबो, दायाँ बायाँ किनारामा रुख । कतै फोहोर थुप्रिएको देखिँदैनथ्यो ।
२०७३ साल कार्तिक महिनामा तात्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आएका थिए । त्यो बेलामा पनि काठमाडौंलाई निकै तामझामका साथ सिँगारियो । सडक सफा गरियो । सडकमा थुप्रिने फोहोर हटाइयो । खाल्डाखुल्डी पुरियो र सडक चिल्लो बनाइयो ।
गएको वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आए । उपत्यकाका धेरैजसो सडक अस्तव्यस्त र धुलाम्मे थियो । नरेन्द्र मोदी हायात होटलमा बस्ने भएपछि चाबहिलबाट हायात होटलको गेटसम्म रातारात सडक पिच गरियो ।
नेपालमा हरेक पटक विदेशी पाहुना आउँदा मात्र सडकको हिलो, धुलो र फोहोर छोप्ने काम भैरहेको छ । विदेशी पाहुनालाई देखाउनकै लागि मात्र सफा गर्ने गरिएको छ । विदेशी पाहुना आउँदा र नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदा मात्रै सडक सफा हुन्छन् । सडकमा फोहोर थुप्रिएको देखिँदैन । वरिपरिको वातावरण पनि चिटिक्क सजाइन्छ, आकर्षक र हराभरा बनाइन्छ ।
विदेशी पाहुना फर्किएसँगै उपत्यकाको सुन्दरता पनि हराउँछ । फेरि सडकमा फोहोर थुप्रिन थाल्छन् । रोपिएका विरुवाहरु संरक्षण अभावमा सुक्न थाल्छन् । हतार–हतार कालोपत्रे गरिएका सडक फेरि धुलो र हिलोमा परिणत हुन्छन् ।
उपत्यकाका मुख्य सडकबाहेक भित्री सडकको अवस्था सम्मेलन र विदेशी पाहुना आउँदा पनि उस्तै हुन्छ । सरकारले देखाउने दाँत मात्रै अलि–अलि सफा गरेजस्तो गरेको मात्रै हो । अरुलाई देखाउनकै लागि भए पनि सडक सफा हुँदा, खाल्डाखुल्डी पुरिँदा उपत्यकाबासी खुशी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हायात होटलमा बस्न आउँदा हायात गेटसम्म बाटो पिच भएपछि बौद्ध, जोरपाटीका बासिन्दा अब कोही पाहुना आउँदा बौद्ध घुम्न आउन् र गोकर्ण रिसोर्टमा बसुन् भनेर प्रार्थना गरिरहेका थिए ।
बौद्ध–जोरपाटीका स्थानीयलाई बिमस्टेक सम्मेलनले अब चाहिँ बाटो बन्छ कि भन्ने आश थियो । तर उनीहरुको त्यो आशा पनि निराशामा नै परिणत भयो । बिमस्टेक सम्मेलन सकियो । सबै पाहुना पनि फर्किए तर यो सडकको अवस्थामा परिवर्तन भएन । अलि–अलि पुरिएका खाल्डा फेरि उस्तै भैसके ।
बिमस्टेक शिखर सम्मेलनका क्रममा उपत्यकाका धेरै ठाउँमा स्वागतद्वार निर्माण भए । तीनकुने, माइतीघरलगायत विभिन्न स्थानमा विशेष सजावट भयो । स्वागतद्वारमा कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्बिर सजाइयो । स्वागतद्वारमा नेपालको कला, संस्कृति झल्कने विभिन्न चित्र बनाइयो । ‘बुद्धको जन्मभूमि नेपालमा स्वागत छ, सगरमाथाको भूमिमा स्वागत छ’ लेखिएका होर्डिङ बोर्डले काठमाडौंलाई सजाइयो । कतै विश्वको सर्वोच्च शिखर सगरमाथाको तस्बिर राखियो भने कतै डाँफे, मुनाल र हिमाली क्षेत्रको आकर्षक तस्बिर राखियो । तर अहिले न त काठमाडौंमा डाँफे, मुनाल देख्न पाइन्छ । न त विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका हिमशिखरहरु ।
विदेशी पाहुनाले हेरेको सुन्दर र चिटिक्क काठमाडौं हामीले चाहिँ हेर्न नहुने हो र ? लाखौँ खर्च सजाइएको काठमाडौं चार दिनमै पुरानै अवस्थामा फर्कियो । बिमस्टेकका बेला देखेको काठमाडौं सधैँका लागि त्यस्तै बनाउन मिल्दैन र ? सहरका भित्ता र पर्खालहरु सधैँका लागि सजाउँदा नि त राम्रै हुन्छ होला नि ।
तर अब यी सबै स्वागतद्वार अब भत्किए । लेखिएका यी अभिव्यक्ति र नेपालको पहिचान झल्किने यी तस्बिर स्वागत गेटबाट च्यातिए । माइतीघर र तिनकुनेमा राखिएका हरिया बिरुवा सुन्दर फूल सुक्न थाले ।
विदेशी पाहुना आउँदा मात्रै होइन अरु बेलामा पनि कहिलेकाहीँ सम्पदा पुनर्निर्माण, बाटोको खाल्डाखुल्डी पुर्ने काम हुने गरेको पाइन्छ । विदेशी पाहुना आउने बेलामा उनीहरुलाई देखाउनकै लागि हतारमा काम हुने गर्छन् । पानी, हिलो, धुलो केही हेरिँदैन । हतारमा गरेको काम टिकाउ हुँदैन, केही दिनमा नै फेरि खाल्डाखुल्डी हिलो धुलो उस्तै भैहाल्छ ।
काठमाडौं महानगरपालिकाले ‘हरियाली काठमाडौं’ अभियान नै ल्यायो । काठमाडौंलाई सुन्दर, आकर्षक र हराभरा बनाउन । सार्क शिखर सम्मेलनका बेलामा रोपिएका बिरुवालाई संरक्षण दिने, उपत्यकालाई हराभरा बनाउने चर्चा खुबै चले त्यतिबेला पनि । तर चर्चा चल्ने मात्रै हो काम हुने होइन । उपयुक्त मात्रामा संरक्षण नहुँदा बिरुवाहरु सुके । फेरि बिरुवा रोप्ने पहल कतैबाट भएन । अलि–अलि सडक छेउमा बचेका बिरुवाहरु पनि संरक्षण नहुँदा बढ्न सकेनन् । काठमाडौंलाई हरियाली बनाउने अभियान अभियानमै मात्रै सीमित भयो ।
पछिल्लो समय उपत्यकाभित्र सडक विस्तारको काम पनि भैरहेको छ । कोटेश्वरदेखि कलंकीसम्म सडक ठूलो बनाइयो । चाबहिल–साँखु सडक पनि विस्तारकै क्रममा छ । उपत्यकाभित्र विभिन्न ठाउँमा साना–ठूला सडक विस्तारका काम भैरहेका छन् । सडक विस्तारकै क्रममा सडक छेउछाउमा भएका अधिकांश विरुवाहरु काटिएका छन् । तर नयाँ बनेका सडकमा कतै पनि बिरुवा रोप्ने ठाउँ छोडिएको छैन । विश्वमा ‘हरियाली सडक’को अवधारणा आइरहँदा हाम्रोमा भएका रुख बिरुवा पनि मासेर ‘उजाड सडक’ निर्माण भैरहेका छन् ।
सडकको छेउछाउ र बीचमा रुख बिरुवा, विभिन्न जातका फूलहरु रोप्दा शहरको सुन्दरता मात्र होइन । सवारी साधनबाट हुने प्रदुषण पनि केही हदसम्म कम हुने विज्ञहरुले बताउँदै आइरहेका छन् ।
देखाउनकै लागि भए पनि अन्तर्राष्ट्रिय सम्मेलन हुँदा र विदेशी पाहुना आउँदा अलि–अलि विरुवा रोपिन्छन् । शहरको चोक–चोकमा रंगरोगन हुन्छ । टाँसिएका अनावश्यक पोस्टर र पम्पलेटहरु उक्काइन्छन् । सडकमा धुलो कम हुन्छ । शहरको प्रत्येक चोकमा उस्तै फोहोर थुप्रिएका हुँदैनन् । पाहुनालाई देखाउनकै लागि मात्रै घर, आँगन, बाटो सफा गर्ने प्रवृत्ति हामीले कहिले मेटाउने ?