दाङमा सात वर्षपछि हत्याका अाराेपी पक्राउ

 भदौ १९, २०७५ मंगलबार १५:४४:५८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – प्रहरीले दाङमा हत्याको अभियोगमा म‌गलबार सात वर्षपछि एक जनालाई पक्राउ गरेको छ । 

घोराही उपमहानगरपालिका वडा नं–१० दक्षिण अम्राईमा २०६८ साल असार २८ गते धारिलो हतियार प्रहार गरी ३६ वर्षीय टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका १ भालुबाङ घरभएका ३७ वर्षीय किरण भनिने कुमवीर बुढालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय दाङले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरी पक्राउ गरिएकालाई सार्वजनिक गरेको हो ।
 
हत्या गरिएका घर्ती रुकुम सिस्ने गाउँपालिका ४ घर भई तत्कालीन अवस्थामा दक्षिण अम्राईमा माछा, अल्लो धागोको व्यवसाय गर्दै आएका थिए । त्यसैगरी हत्याको अभियोग लागेका बुढा तत्कालीन अवस्थामा घोराही–१०, दक्षिण अम्राईमा बसोबास गरे पनि अहिल भालुवाङमा बस्दै आएको प्रहरीले जनाएको छ । 

घर्ती र बुढाले संयुक्तरुपमा दक्षिण अम्राईमा माछा र अल्लो धागोको व्यवसाय गर्दै आएकोमा ३ लाख रुपैयाँको हिसाब नमिलेपछि बुढाले घर्तीको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले जानकारी दिनुभयो ।
 
प्रहरीमा गोकर्ण गुरुङको नाममा किटानी जाहेरी परे पनि उनी दोषी नभएको भन्दै प्रहरीले थप अनुसन्धान गर्दै गर्दा प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको टोलीले बुढालाई बाग्लुङको ढोरपाटन नगरपालिका ९ बाट नियन्त्रणमा लिएकाे हाे । 

बुढाले घटनापछि फरार रही ढोरपाटनमा आलु खेती गर्दै आएका थिए । अभियुक्त बुढालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी कर्तव्य ज्यान मुद्धामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको एसपी शर्माले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया