तरकारी खेतीले हरियाली ‘भुष्मे गाउँ’

 भदौ १९, २०७५ मंगलबार १९:०:३७ | श्यामशितल परियार

लमजुङ – हिजोका दिनमा कुनै काम/व्यवसाय थिएन, भुष्मेकी नीलमाया तामाङको । त्यसैले उहाँलाई दुईचार पैसा देख्न पनि मुश्किल हुन्थ्यो । आम्दानी नहुँदा घरखर्च चलाउन पनि धौधौ हुन्थ्यो ।   

परिवारको गुजारा चलाउनकै लागि उहाँले तरकारी खेती सुरु गर्नुभयो । २०७१ सालबाट उहाँले व्यावसायिक रुपमा तरकारी खेती गर्नुभएको हो । ८ रोपनी क्षेत्रफलमा उहाँले व्यावसायिक तरकारी खेती गर्नुभएको हो । 

गुजारा चलाउन सजिलो   

उहाँले अहिले ६ वटा टनेलबाट विभिन्न मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । तरकारी खेतीमा उहाँलाई आफ्ना २ छोराको साथमा पनि मिलेको छ । तरकारी खेतीमा लागेसँगै उहाँको जीवनस्तरका उकासिएको छ । 

‘हिजो दुईचार पैसा हातमा हुँदैनथ्यो । अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भएको छ । गुजारा चलाउन सजिलो भएको छ’, उहाँले हौसिँदै भन्नुभयो ।

उहाँमात्र होइन, यही गाउँकी सुनसरी तामाङ पनि अहिले तरकारी खेतीमा रम्नुभएको छ । उहाँका अनुसार तरकारी खेतीबाट छोराछोरीको पढाई खर्च व्यहोर्न सजिलो भएको छ । घरखर्च चलाएर बाँकी रहेको पैसा बचत भएको छ । 

पैसा बचत   

यस गाउँका प्रायः अधिकांश तरकारी खेतीमा जुटेका छन् । तरकारी फलाएका छन् । तरकारी बिक्रीबाट राम्रो पैसा हात पारेका छन् । उनीहरुले बन्दा, काउली, गोलभेँडा, घिरौँला, काक्रा लगायतका तरकारी टनेलमा फलाउँछन् । 

आफूले ४ वटा टनेल बनाई व्यावसायिक तरकारी खेती गर्दै आएको स्थानीय किसान नारायणबहादुर तामाङले बताउनुभयो । ‘मैले गोलभेँडा, खुर्सानी, काउली र बन्दा फलाएको छु । गाउँलेकै देखासिकी गरी मैले पनि तरकारी खेती गरेको हुँ । राम्रै भएको छ । तरकारी खेतीबाट आर्जन भएको केही पैसा बचत पनि गरेको छु’, उहाँले मुस्कुराउँदै भन्नुभयो । 

गाउँलेले फलाएको तरकारी बेसीशहर बजारसम्म आइपुग्छ । 

तरकारी खेतीले गाउँ नै हरियाली 

जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर–८, मा पर्ने भुष्मे गाउँका किसानलाई अहिले काउली, बन्दा, गोलभेँडालगायतको बेर्ना जमाउन र सार्न भ्याइनभ्याई छ ।   

तरकारी खेतीले गाउँ नै हरियाली भएको छ । पहिले तरकारी किन्न बजार र छिमेकीको भर पर्दै आएका स्थानीय अहिले आफैँ तरकारी उत्पादन गर्छन् । बेच्छन् । गाउँमा ५५ घरधुरी रहेको छ ।      

शान्ति सामाजिक परिवारका अध्यक्ष विष्णुमाया तामाङका अनुसार गाउँका सबै घरधुरी तरकारी खेतीमा होमिएका छन् ।

समग्र विकास सेवा केन्द्र लमजुङकी जिल्ला संयोजक मिरा भण्डारीका अनुसार गाउँमा सामाजिक परिवार गठन गरी तरकारी खेतीसम्बन्धी तालिम समेत प्रदान गरिएको छ । उहाँका अनुसार स्थानीयको आय–आर्जनमा टेवा पुर्याउन बाख्रापालन, कुखुरापालन र तरकारी खेतीसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।   
 

अन्तिम अपडेट: चैत ५, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया