जनता आवास कार्यक्रममार्फत विपन्न दलितले पाए पक्की घर

 भदौ २०, २०७५ बुधबार १०:५५:२४ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदबारी नगरपालिका–८ पाठकगाउँ रातमाटेका विपन्न दलित नागरिकहरुले ‘जनता आवास कार्यक्रम’मार्फत नयाँ पक्की घर पाएका छन् ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाको प्राविधिक तथा आर्थिक सहयोगमा पाठकगाउँ भित्रका पिप्ले, अर्चले, रातमाटे, पाठकगाउँ, डाँडागाउँ र चापाबोटेलगायत स्थानमा २४ ओटा घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । खाँदबारी–८ नम्बर वडा कार्यसमितिले आफ्नो वडाभित्रका विपन्न र गरिब दलितहरुलाई छनोट गरेर घर निर्माण भैरहेको छ ।  

वडाभित्र धेरै विपन्न र दलितको बस्ती रहेको भए पनि ठोस कार्यक्रम गर्न नसकिरहेको समयमा जनता आवास कार्यक्रम प्रभावकारी भएको ८ नम्बरका वडाअध्यक्ष डम्बर कटवालले बताउनुभयो । उहाँले भन्नुभयो ‘चुनावको समयमा जनताको घर–घरमा भोट माग्न जाँदा मैले सुखदुःखका सारथी बन्ने घोषणा गरेको थिएँ । वडाभित्र प्रभावकारी काम गर्न सकिरहेको थिइनँ, मैले गरेको बाचा पूरा गर्न जनता आवास कार्यक्रममा प्रपोजल पेश गरेँ । अहिले धेरैले घर बनाइसके, कोही–कोहीको बाँकी छ ।’

धनकुटाका प्राविधिकहरुको टिमले स्थलगत अवलोकन र अनुगमन गरेपछि घर बनाउन सुरु भएको वडाअध्यक्ष कटवालले बताउनुभयो । ‘अहिले धेरै जनाको घर निर्माण सम्पन्न भैसकेको छ भने केहीको अन्तिम चरणमा पुगेको छ । साना झुप्रोमा बसिरहेका गरिब विपन्नहरुलाई तीन कोठे पक्की भवन निर्माण भएको छ । उनीहरु खुशी भएको पाएको छु ।’ उहाँले भन्नुभयो । 

शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले प्रति परिवार ३ लाख ३० हजार रुपैयाँ घर बनाउन सहयोग गरेको छ । घर बनाउने काममा स्थानीयहरु आफैँ खटेपछि धेरै घर निर्माण सम्पन्न भैसकेको छ । सरकारी निकायबाट घर बनाउनु अगाडि पैसा नदिँदा भने समस्या भएको वडाअध्यक्ष कटवालले बताउनुभयो । 

दलित र विपन्न नागरिकहरुले नयाँ पक्की घर पाएपछि उनीहरुमा खुशी छाएको छ । वडामा पहिलो पटक जनता आवास कार्यक्रम लागु भएको ८ नम्बरका वडासदस्य गजेन्द्र गुरुङले बताउनुभयो । ‘जनता आवास कार्यक्रम हाम्रो वडामा सतप्रतिशत पूरा भएको छ । यहाँका विपन्न र दलित नागरिकहरु फुसको साना–साना झुप्रो छाडेर नयाँ पक्की घर पाएपछि निकै हौसिएको पाएको छु ।’ वडासदस्य गुरुङले भन्नुभयो । 

सदरमुकाम खाँदबारी देखि नजिकै पर्ने ८ नम्बर वडाका पाठक गाउँमा सुमन बिसुन्के, रामबहादुर रसाइली, वीरबहादुर रम्तेल, भिम बहादुर रम्तेल, नारायण रसाइली, पदम विश्वकर्मा, टेकबहादुर विश्वकर्मा र सुमन विश्वकर्माको घर निर्माण भइसकेको छ । अन्यको निर्माण कार्य अन्तिम चरणमा पुगेको स्थानीय पदम विश्वकर्माले बताउनुभयो ।

त्यहाँका स्थानीयहरु दिनभरि खाँदबारी आसपासका बजारमा ज्यालामजदुरी गरेर जिवीकोपार्जन गर्दै आएका छन् । 


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया