वडासदस्य काम खोज्दै विदेसिए, राजीनामा नै नदिई बहराइनमा

 भदौ २०, २०७५ बुधबार १६:१०:१५ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाको रभ्भा गाउँपालिका वडा नम्बर ४ का वडासदस्य डेमानसिंह सारु रोजगारी खोज्दै विदेश जानुभएको छ । 

स्थानीय तहको चुनावबाट वडा सदस्यमा निर्वाचित सारु रोजगारीका लागि बहराइन गएको वडा नम्बर ४ का वडाध्यक्ष भोजबहादुर विकले जानकारी दिनुभयो । उहाँ कुनै जानकारी नगराई र राजीनामा पनि नदिई बहराइन पुगेको उहाँले बताउनुभयो । 

जानकारी नै नदिई वडा सदस्य वैदेशिक रोजगारीका लागि गएपछि उहाँको सेवा सुविधा रोक्का गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो । 

वडा सदस्यको वैदेशिक रोजगारीमा हिँडेपछि पुन चुनाव गर्न माग गर्दै गाउँपालिकामा निवेदन परेको छ । तत्कालिन एमालेबाट वडा सदस्यमा निर्वाचित सारु विदेसिएपछि नेपाली कांग्रेस हुमिनले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएरै वडा सदस्यको चुनाव गर्न माग गरेको छ ।

राजीनामा नआई चुनाव गर्न नमिल्ने भन्दै अध्यक्ष भण्डारीले भन्नुभयो, ‘उहाँको बारेमा सोधपुछ गरिरहेका छौं ।' गएको माघमै सारु बहराइन गएको स्थानीय बासिन्दाको भनाइ छ । 

यसअघि प्यूठानको स्वर्गद्वारी नगरपालिका १ का वडा सदस्य कोचिवाङका नारायण पुन मगर पनि काम खोज्दै कुवेत जानुभएको थियो । 

यो पनि पढ्नुहोस् । 

वडासदस्य नै काम खोज्दै कुवेतमा

अन्तिम अपडेट: बैशाख १३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया