यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान सुरु

 भदौ २०, २०७५ बुधबार १८:४४:५२ | सुजता सुनुवार

इलाम – जबरजस्ती करणी र यौनजन्य हिंसा विरुद्ध इलाममा एक महिने अभियान बुधबारबाट सुरु भएको छ । 

बढ्दो जबरजस्ती करणी र यौनजन्य हिंसाका घटना निराकरण होस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न संघसस्था तथा सरोकारवालाहरुको पहलमा अभियान सुरु गरिएको हो ।

मानव बेचबिखनविरुद्धको १२ औं राष्ट्रिय दिवसको अवसर पारेर आज अभियानको औपचारिक उद्घाटन गरिएको छ  । जिल्ला प्रहरी कार्यालय इलाम, इलाम जिल्ला स्थित विभिन्न सरोकारवाला कार्यालय र संघसंस्थाको आयोजनामा सुरु भएको कार्यक्रमको उद्घघाटन जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले गर्नु भएको थियो  । 

अभियानको उद्घाटनको अवसरमा प्रभावतफेरी गरिएको थियो । विभिन्न जनचेतनामूलक प्लेकार्डसहितको प्रभातफेरी इलाम नगरपालिका ७ स्थित ठूलो टुँडीखेलबाट सुरु भई  बजार परीक्रमा गर्दै चोकबजारमा कोणसभामा परिणत भएको थियो ।

अभियान जिल्ला प्रहरी कार्यालयसहित नेपाल पत्रकार महासंघ, महिला जागरण संघ, माइती नेपाल पशुपतिनगर, मानव अधिकारका लागि महिला एकल महिला समूह, जिल्ला प्रशासन कार्यालयलगायत करिब २० संस्थाको सहभागितामा संयुक्त रुपमा आयोजना सुरु भएको हो ।

अभियान असोज १६ सम्म सञ्चालन हुनेछ । अभियानका क्रममा सडक नाटक मञ्चन, विद्यार्थी सचेतीकरण कार्यक्रम, महिला समुहसँग अन्तरक्रिया, सरोकारवालासँग अन्तरक्रिया, ब्रोसर वितरण लगायतका कार्यक्रम गर्ने तयारी गरिएको जनाइएको छ ।

 जिल्लाका १० वटै स्थानीय तहमा अभियान अन्तरर्गतका कार्यक्रम सञ्चालन हुनेछन् ।

अन्तिम अपडेट: चैत १, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया