मेलम्ची सपना : बित्यो जवानी, आएन पानी

यो दसैँमा पनि पानी नआउने पक्का

 जेठ २०, २०७५ आइतबार १०:१५:३२ | नवराज फुयाँल

काठमाडौं – बानेश्वरका प्रज्वल प्रधानलाई मेलम्चीको पानी कुनै दन्त्यकथा भन्दा कम लाग्दैन । २०४५ सालमा जन्मेका उहाँले जान्ने बुझ्ने भएदेखि मेलम्चीको पानीको कथा सुन्दै आउनु भएको छ ।

सुन्दा र भन्दा आनन्द आउने, तर अनुभूति हुन नसक्ने । आउँछ आउँछ भन्ने, तर आउँदै नआउने । होला होला जस्तो पनि, हुने तर पूरा नहुने । यो कुनै कथा कहानीभन्दा फरक पटक्कै छैन प्रज्वललाई । 

बुझ्ने भएदेखि सुन्दै आएको मेलम्चीको पानी पिउन काठमाडौंका अरु बासिन्दालेजस्तै प्रज्वलले पनि पाउनुभएको छैन ।

यो अवधीमा उहाँका छोरा पनि बुझ्ने भइसकेको छ । ७ वर्षको छोराले घरमा कुनैबेला पानी नहुँदा मेलम्चीको पानी कहिले आउँछ बाबा भनेर सोध्ने गरेको बताउनुहुन्छ, प्रज्वल । ‘आफूलाई कुनै दन्त्यकथा जस्तै लागेको मेलम्चीको पानी कहिले आउँछ भनेर बच्चालाई कसरी भन्नु र ?’ उहाँले प्रश्न गर्नुभयो ।
  
सरकारले यो दसैँअघि नै मेलम्चीको पानी काठमाडौंका बासिन्दालाई खुवाउने भने पनि प्रज्वल विश्वस्त हुनुहुन्न । मेलम्चीको पानीले तिर्खा मेट्न पाइएला भन्ने उहाँलाई विश्वास लाग्न छाडिसकेको छ । ‘पानी आउने कुरा सुन्दासुन्दै जवानी बितिसक्यो, तर पानी आएन, अब छिटै आउला जस्तो पनि लाग्दैन’ उहाँले भन्नुभयो । उहाँ मात्रै होइन, धेरैलाई मेलम्चीको पानीको भर लाग्दैन ।

फेरि सर्दै पानी आउने समय

ठेकेदार कम्पनीको लापर्बाहीका कारण मेलम्चीको पानी यो दसैँसम्ममा पनि काठमाडौं नआउने पक्का जस्तै भएको छ ।

पटक–पटक काम सक्न निर्देशन दिँदा पनि कार्यतालिका अनुसार काम गर्न ठेकेदार कम्पनीले अटेर गर्दै आएको खानेपानी मन्त्रालयले जनाएको छ ।
 
पछिल्लो एक वर्षमा ठेकेदार कम्पनीले विभिन्न बहाना देखाउँदै पटक पटक गरेर ६ पटक सम्म काम रोकिसकेको छ ।

यसले निर्धारित समयमा आयोजनाको काम सक्न समस्या भएको मन्त्रालयका सचिव कृष्णराज बिसीले बताउनुभयो ।

दश वर्षमा निर्माणसक्ने लक्ष्यसहित सुरु भएको परियोजना झण्डै १९ वर्ष भइसकेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय र आयोजनाका उच्च अधिकारी मेलम्चीको पानी काठमाडौं आउने ‘डेटलाइन’ जसरी पनि ‘मिट’ गरेरै छाड्ने दावी गरीरहेका छन् । तर ठेकेदारले काम नगर्दा फेरि मिति सर्न सक्ने अवस्था देखिएको छ ।

सुरुङ खन्ने काम सकिए पनि सुरुङको मर्मत, बाँधस्थलको निर्माण, सुरुङभित्रको गतिविधि अवलोकन गर्ने विद्युतीय प्रणाली जडान, हावा फाल्ने बिन्दुको पहिचान एवं जडानलगायत महत्वपूर्ण पाँच काम सम्पन्न गर्न अझै बाँकी छ ।

तर यो सबै काम कार्यतालिका अनुसार सम्पन्न गर्न ठेकेदारले अटेर गर्दा अझै केही वर्ष मेलम्चीको पानी काठमाडौंवासीका लागि दन्त्य कथा बन्ने अवस्था छ ।

झुटो सपना मात्र

०७३ असोज ७ गते प्रधानमन्त्री बन्ने बित्तिकै तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची खानेपानी आयोजनाको निर्माणस्थलमा पुगेर तत्काल काम सक्न निर्देशन दिनुभएको थियो । त्यही वर्षको दसैँमा काठमाडौंमा पानी आउने घोषणा गर्दै उहाँ फर्कनु भयो । तर पानी अहिलेसम्म आउन सकेको छैन ।

त्यसपछि बनेका प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्रीका लागि मेलम्ची पुग्नु र पानी आउने मिति घोषणा गर्नु नियमित ‘सेड्युल’ जस्तै बन्यो ।
  
पछिल्लो पटक चैत ३० गते मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङ सिन्धु ग्याल्थुम खण्डको औपचारीक ब्रेक थ्रु गर्दै खानेपानी मन्त्री बीना मगरले यो दसैँअघि नै काठमाडौंमा पानी ल्याइने घोषणा गर्नुभयो ।

तर पछिल्लो समयमा कामले उत्साहजनक प्रगति हासिल गर्न नसकेपछि अहिले दसैँअघि पानी आउने सम्भावना टर्न थालेको छ ।

वर्षौँदेखि कहिले दसैँ त कहिले बैशाख भन्दै मेलम्चीको पानी आउने समय तोकिन्छ । जब जब पानी आउने समय घोषणा गरिन्छ, काठमाडौंका बासिन्दा दङ्ग पर्छन् । तर त्यो समयमा पनि पानी नआएपछि फेरि निराश बन्नु उनीहरुको बाध्यता नै बनेको छ । सरकारी कर्मचारी, आयोजनाका ठेकेदार सबै झुट बोलेर काठमाडौंबासीको भावनामाथि खेलवाड गरिरहेको बानेश्वरका प्रज्वल श्रेष्ठको बुझाइ छ ।


  
अब दसैँ आउन मात्रै ४ महिना बाँकी छ । यस अवधीमा गर्नुपर्ने कामको चाङ भने थुप्रै छ । तर ठेकेदारले विभिन्न बहानामा बनाउँदै काम गर्न भने आलटाल गरेपछि मन्त्रालयले पटक पटक समयमा काम सक्न निर्देशन दिएको मन्त्रालयका सचिव कृष्णराज विसी बताउनुहुन्छ ।  

किन भएन काम ?

मन्त्रालयले यही दसैँभित्र मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने गरी योजना बनाएको थियो । भदौ ३० गतेभित्रै काम सक्ने गरी बनाइएको कार्यतालिका अनुसार काम गर्न ठेकेदार कम्पनीले पटक पटक प्रतिबद्धता जनाएपनि काम भने नगर्ने गरेको सचिव विसीको भनाइ छ ।

‘अझै पनि कार्यतालिका अनुसार ठेकेदार कम्पनीले काम गरे दसैँअघि काम सम्पन्न हुने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘तर काममा ढिलाई हुँदा हामीले नागरिक सामु गरेको प्रतिवद्धता पूरा नहुने अवस्था आयो ।’ 

प्रतिवद्धता अनुसार काम छिटो सक्काउन मन्त्रालयले निर्माण कम्पनीलाई पटक पटक अनुरोध गर्दै आएको छ । निर्माण कम्पनीले जहिल्यै काम गर्छु भन्ने तर काम नगर्ने प्रवृत्तिले निरन्तरता पाएपछि भने मन्त्रालयले यसलाई अन्त्य गर्न पहल थालेको छ ।

दैनिक ३०० मिटरभन्दा बढी सुरुङको सुरुङको मर्मत तथा फिनिसिङको काम हुनुपर्नेमा ५० मिटर मात्रै काम भइरहेको छ । 

निर्माण व्यवसायीले भूकम्प तथा अन्य कारण देखाएर थप एक अर्ब ६५ करोड रुपैयाँ उपलब्ध गराउनुपर्ने माग राख्दै आएको छ । यसमध्ये २८ करोड रुपैयाँ भने आयोजनाले भुक्तानी गरिसकेको छ ।

निर्माण व्यवसायीले कम्पनीको आन्तरिक विवाद देखाई उच्च व्यवस्थापकबाट सहयोग नभएको, इटालीबाट रकम उपलब्ध नभएको, कामदारलाई भुक्तानी गर्न नसकिएको, निर्माण सामग्री नभएको जस्ता कारण देखाएर काममा आलटाल गर्दै आएको पाइएको सचिव विसीले बताउनुभयो । 

ठेकेदारलाई नेपाल झिकाउन पत्राचार

काममा ढिलाई हुँदै गएपछि मन्त्रालयले ठेकेदार कम्पनीको मुख्य कार्यालय इटालीको उच्च व्यवस्थापकलाई नेपाल आउन पत्राचार गरेको छ । आयोजनाको ठेक्का लिने कम्पनी इटलीको सिएमसी डी राभेन्ना हो । 
कम्पनीको यहाँ रहेका प्रतिनिधिहरुले काममा ढिलाई गरेपछि इटलीबाट उच्च व्यवस्थापकलाई झिकाउन पत्राचार गरिएको सचिव विसीले जानकारी दिनुभयो ।

‘पटक पटक सहमति गर्ने, काम गर्छु भन्ने प्रतिबद्धता जनाउने तर काम नगर्ने प्रवृत्ति देखियो । यसले हामीलाई गम्भीर बनाएको छ, तर जसरी भए पनि निर्माण व्यवसायीलाई काम गराउने पक्षमा हामी छौँ’, उहाँले भन्नुभयो । 

आफूहरुको अनुरोधलाई फेरि पनि अटेर गरे ठेक्का सम्झौता अनुसारको कारबाही गर्न बाध्य हुने चेतावनी पनि उहाँले दिनुभयो । 

निर्माण व्यवसायीले हालसम्म २७ किलोमिटर लामो सुरुङमध्ये ६ किलोमिटर सुरुङ मर्मत गर्नुपर्नेमा एक किलोमिटर मात्रै सम्पन्न गरेको छ । मन्त्रालयले मनसुनअगावै निर्माण सामग्री, उपकरण सञ्चिती र तयारी अवस्थामा राखेर कार्ययोजनामा प्रतिबद्धता व्यक्त गरेअनुसार अनिवार्य रुपमा काम गर्न पुनः निर्देशन दिएको छ । सचिव बिसीले भन्नुभयो, ‘अब निर्माण व्यवसायीको कुनै पनि बहाना स्वीकार गर्न सकिँदैन । यो सरकारको स्पष्ट धारणा हो । काममा ढिलाइ गरेर राष्ट्रिय गौरवको आयोजनालाई पर धकेल्न पाइँदैन ।’ अटेर गरेर कामै नगरी बसे ठेक्का तोड्न मन्त्रालय बाध्य हुने पनि उहाँले चेतावनी दिनुभयो । 

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया