भारत र बुल्गेरियाका राष्ट्रपति एकैसाथ पुगे चलचित्र ‘ब्रम्हास्त्र’को सेटमा

 भदौ २१, २०७५ बिहिबार १३:१७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता रणवीर कपूर र आलिया भट्ट यतिबेला फिल्म ‘ब्रम्हास्त्र’ को छायांकनका लागि बुल्गेरियाको राजधानी सोफियामा छन् । यसैबीच भारतका राष्ट्रपति रामनाथ कोविन्द ३ दिनको यूरोप भ्रमणमा रहेका बेला फिल्म ‘ब्रम्हास्त्र’ को सेटमा पुगेका छन् ।

राष्ट्रपति कोविन्दका साथै बुल्गेरियाका राष्ट्रपति रुमेन रादेव पनि सँगै सेटमा पुगेका थिए । भारत र बुल्गेरिया राष्ट्रपति अचानक फिल्मको सेटमा आएपछि फिल्मका कलाकार तथा अन्य सदस्यहरु निकै खुशी देखिएका थिए । राष्ट्रपति कोविन्दले अभिनेता रणवीर कपूर तथा अभिनेत्री आलिया भट्टलाई भेटेर फिल्मका विषमा कुराकानी गरेका छन् । 
 
फिल्म ‘ब्रम्हास्त्र’ को सेटमा कलाकारहरुका साथ भेटघाट गरेका तस्बिरहरु राष्ट्रपति कोविन्दले ट्वीटरमार्फत शेयर गरेका छन् । तस्बिरमा फिल्म ‘ब्रम्हास्त्र’का निर्देशक अयान मुखर्जी, रणबिर कपूर, आलिया भट्ट लगायत फिल्मका अन्य सदस्यहरु पनि रहेका छन् । 

फिल्म ‘ब्रम्हास्त्र’ मा आलिया र रणवीर पहिलो पल्ट जोडीको रुपमा अभिनय गरिरहेका छन् भने महानायक अमिताभ बच्चन, मौनी रोय, नागार्जुन र डिम्पल कपाडियाको पनि मुख्य भूमिका रहनेछ । यो फिल्म सन् २०१९ मा रिलिज हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया