रक्षाबन्धन मानेर घर फर्किएकी महिलाको हत्या, परिवारका सदस्य शंकाकाे घेरामा

 भदौ २१, २०७५ बिहिबार १४:४९:१९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जमा दाजुभाइलाई रक्षाबन्धनमा दिर्घायूको कामना गरेर घर फर्किएकी  एक महिलाको रहस्यमय मृत्यु भएकाेमा परिवारका सदस्यहरु पक्राउ परेका छन् ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २, बाबागाउँकी २६ वर्षीया अन्नु वर्माको हत्या आरोपमा प्रहरीले  परिवारकै सदस्यलाई पक्राउ गरेको हाे । 

अन्नुको हत्या अभियोगमा सासु धनदेई कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र स्थानीय हरिहर प्रसाद तेलीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो । 

भदौं १० गते रक्षाबन्धन बनाउन माइतीघर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, मनिकापुर पुगेकी अन्नु केही दिन माइतीमा बसेर भदौ १४ गते घर फर्कनुभएको थियो । त्यसै राति उनको हत्या भएको माइती पक्षको दावी छ । 

भदौ १५ गते एकाबिहानै अन्नुका पाँच वर्षीय छोराले मावलीमा फोन गरेर आमा म¥यो भनेपछि मात्रै घटनाबारे आफूहरुले जानकारी पाएको अन्नुकी भाउजु विन्दुकमारी वर्माले बताउनुभयो । 

घरपरिवारका सदस्यले कुनैपनि जानकारी दिएनन्, अन्नुकी भाउजु वर्माले भन्नुभयो,–‘मोवाईलमा सम्पर्क गरेर ५ वर्षे नाबालकलाई कुरा गर्न लगाए, आमा मर्‍यो, आमा भर्‍यो भनेर फोन राखिदिए ।’

अन्नुको शव घरभन्दा बाहिर नालीमा भेटिएको थियो । घटनाका दिन प्रहरी घरभित्र प्रवेश नै नगरी एक्कासी पोष्टमार्टम गर्न नेपालगञ्ज ल्याएको माइतीपक्षको दावी छ । 

स्थानीयले घरभित्र रगत लत्पत्तिएको तस्बिर मोवाईलमा खिचेका छन् । यसैगरी अन्नुको शरिरमा निलडाम समेत देखिएको दावी गरेका छन् । भेरी अञ्चल अस्पतालको पोष्टमार्टम रिपोर्टमा पानीमा डुबेर ज्यान गएको उल्लेख भएको भन्दै माईती पक्षले पोष्टमार्टम रिपोर्टमाथि समेत प्रश्न उठाएका छन् । 

अन्नुका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेकोमा घटनापछि घर फर्किनुभएको छ । 

अन्नुमाथि यसअघि पनि विभिन्न निहुँमा सासु लगायत घरपरिवारबाट कुटपिट भएको दावी माइती पक्षको छ । अन्नु बिरामी नरहेको र घरको नालीमा डुबेर ज्यानै जाने कुनैपनि अवस्था नरहेको स्थानीय समाजसेवी सत्यनारायण वर्माले बताउनुभयो । 

सासु धनदेई र गाउँकै तेलीबीच अवैध सम्बन्धबारे जानकारी पाएका कारण अन्नुको हत्या भएको माइती पक्षको दावी छ । १५ दिनअघि पनि अन्नुमाथि कुटपिट भएको दावी माइती पक्षको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया