नेपालकाे शानदार जित: भुटान ४-० ले पराजित

 भदौ २१, २०७५ बिहिबार १७:५४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो जित निकालेको छ । समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको छ ।

बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले भुटानलाई हराएसँगै नेपालले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना पनि कायमै राखेको छ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलले स्तब्ध भएको थियो ।

भुटानबिरुद्धको खेलमा नेपालका स्ट्राइकर सुनील बलको प्रदर्शन अविसमरणीय रह्यो । नेपालले गरेका चारमध्ये तीन गोलमा उनको प्रत्यक्ष संग्लग्नता रह्यो ।

खेलको २१औं मिनेटमा नेपालले अग्रता लिएको थियो । सुनील बलको कर्नर प्रहारमा डिफेण्डर अनन्त तामाङले पेनाल्टी एरियाबाट शानदार गोल गरी नेपाललाई अग्रता दिलाएका थिए । यो अनन्तको दोस्रो अन्तर्राष्ट्रिय गोल हो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो । ६९औं मिनेटमा भुटान १० खेलाडीमा सीमित हुँदा नेपालले पेनाल्टीको अवसर पाएको थियो । निमा वाङदीले नेपालका निराजन खड्कालाई डिबक्समा फल गरेपछि दोस्रो पहेँलो कार्ड खाँदै वाङदी मैदानबाट बाहिरिए ।

पेनाल्टी अवसरमा बिमल घर्तीमगरको प्रहार भुटानका गोलरक्षक छिरिङ देण्डुपले रोकेका थिए । तर, रिबाउण्ड बलमा सुनीलले गोल गरी नेपाललाई २–० को अग्रता दिलाए ।

७६औं मिनेटमा अञ्जन विष्टलाई रिप्लेस गरी मैदान छिरेका भरत खवासले तीन मिनेटपछि नै उत्कृष्ट गोल गरे । मध्यक्षेत्रबाट एक्लै बल लगेर उनले शानदार फिनिसिङ गरेका थिए ।

खेलको नियमित समय सकिनु २ मिनेटअघि नेपालले चौथो गोल गरेको थियो । सुनील बलको पासमा निराजन खड्काले गोल गरेका हुन् ।

जितसँगै नेपालको ३ अंक भएको छ । भने, सेमिफाइनल प्रवेशको सम्भावना पनि कायमै राखेको छ । समूहको अन्तिम खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनल प्रवेशका लागि नेपालले बंगलादेशलाई हराउनुपर्नेछ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया