ढुक्कको बस र डोरी सहचालक !

 भदौ २२, २०७५ शुक्रबार १४:२४:४३ | जानुका दुवाडी
unn.prixa.net

काठमाडाैं – स्नातक तहको पढाई सकिएपछि कीर्तिपुरको बसाइ सुरु भयो । कीर्तिपुर बस्नुका थुप्रै तीतामिठा अनुभव त मैले साथीहरुबाटै सुनिसकेकी थिएँ । उच्च शिक्षा हासिल गर्ने र आफ्नो भविष्य खोज्ने हजारौं युवाहरुको बसाई कीर्तिपुर मेरो लागि भने नयाँ अनुभव थियो । 

यस्तै बसाईको केही दिनपछि मलाई कीर्तिपुरबाट लगनखेल जानु थियो । कीर्तिपुरबाट लगनखेलका लागि पहेंलो गाडी जान्छ भन्ने मलाई थाहा थियो । र म सिधै पहेंलो गाडीको स्टेशन नगाउँ दोबाटोमा गएर रोकिएको गाडी भित्र पसें । 

सिटमा बसिरहेका सबै यात्रु एकदमै शान्त थिए । ढुक्क जस्ता देखिन्थे । म पछाडिको एउटा सिटमा बसें । प्रायःजसो काठमाडौंमा गाडीहरु २, ४ वा ५ मिनेटको अन्तरालमै गुड्ने गर्छ । तर म बसेको १० मिनेट जति भैसकेको थियो । न सिटमा चालक देखिन्थे, न वरपर सहचालक नै । त्योभन्दा पनि अचम्मको कुरा त, यात्रुहरुमा पनि कुनै हतारो थिएन । सबै ढुक्कसँग बसिरहेका थिए । 

यो सब देखेर मेरो मनमा भने धेरै जिज्ञासा उठिरहेको थियो । मभन्दा अघिल्तिर रहेका यात्रुलाई गाडी कति खेर जान्छ भनेर सोध्न मन लाग्यो । तर उनी सिटमाथि टाउको अड्याएर सुतिराखेका थिए । के डिस्टर्ब गर्नु भनेर सोधिन  । सबैभन्दा अगाडि झ्यालपट्टिको सिट खाली भएको देखें । म उठेर त्यहीँ  बस्न गएँ ।
नजिकै बस्नुभएकी एकजना दिदीलाई गाडी कतिखेर जान्छ होला भनेर सोधें । दिदीले सहजै जवाफ दिनुभयो, अब जान्छ होला एकछिनमा । दिदीले सहजै उत्तर दिनुभएको देखेर मलाई लाग्यो सायद सबैलाई थाहा रहेछ गाडी एक छिनमा जान्छ भनेर । म पनि काखमा झोला च्यापेर चुपचाप बसें । 

यत्तिकैमा मेरो आँखा ढोकामा झुन्डएको डोरीतिर गयो । डोरी ढोकामा बाँधेर चालकको सिटसम्मै पुरयाइएको थियो । म छक्क परें । गाउँमा डोरीले गाईवस्तु बाँधेको त मैले धेरै पटक देखेको थिएँ । तर गाडीलाई यसरी बाँधेर राखेको देखेको भनेको पहिलो पटक नै थियो । 

म जिज्ञासाले उकुसमुकुस भएँ । अघि सोधेकै दिदीलाई यो डोरी किन बाँधेको भनेर सोध्न मन लाग्यो । तर काठमाडौंमा पहिलोपटक आएकी यसलाई केही थाहा रहेनछ भन्छन् कि भनेर सोध्न सकिन । 

मैले त्यो डोरीलाई नियालेर हेरेँ । डोरी निकै नै बलियो देखिन्थ्यो । त्यो अल्झिएको नभई कुनै प्रयोजनका लागि बुझेरै बाँधिएको स्पष्ट हुन्थ्यो । झन् अचम्म त मलाई किन पनि लाग्यो भने डोरीको सिधा सम्पर्क ड्राइभरसँग थियो । म केही नबोली डोरीतिर हेरी मात्र रहेँ ।  तबसम्म गाडीको सबै सिटहरु भरिसकेका थिए । गाडी भरिने बित्तिक्कै दायाँपट्टिको चिया पसलबाट एक जना अधबैंसे पुरुष गाडीतिर आए । 

मैले अनुमान लगाएँ, चालक यही हुनुपर्छ । हो रहेछ ।  उनी चालकको ढोकाबाट भित्र पसे र सिटमा बसे । मैले फेरि यताउता नियालें कि कतै सहचालक पनि आउँदैछन् होला भनेर । उनले सिटमा बस्नेबित्तिकै सिटमुनि बाँधेको डोरी फुकाले, गाडीको ढोका आफैं बन्द भयो । चालकले गाडी अगाडी बढाए । डोरी फुकालेर ढोका बन्द भएको देखेर मलाई निक्कै रमाइलो लाग्यो । 

गाडी अलि अगाडि पुगेपछि एक जना यात्रु फेरि गाडी चढ्न ढोका नजिक आए । चालकले फेरि त्यही डोरी तानेर ढोका खोले । अनि मलाई बल्ल थाहा भयो, अघिसम्म मैले खोजेर नभेटेको सहचालक त त्यही डोरी पो रहेछ । 

लगभग ४ वर्ष भयो । म दैनिक कम्तिमा पनि १ पटक पहेंलो गाडी चढेर कीर्तिपुर र लगनखेल आवतजावत गर्छु । हिजोआज म पनि अरुजस्तै सिटमा गएर ढुक्कसँग बस्छु । किनकी मलाई थाहा भइसक्यो । अर्को गाडी नआउँदासम्म र यात्रु नभरिंदासम्म यो हिँड्नेवाला पनि छैन । 

ऋनि बसभित्र झुण्ड्याएको डोरीले कुशलतापुर्वक सहचालकको काम गर्छ । फरक के छ भने नै अरु गाडीका सहचालकले मानिसलाई यता फर्क, उता फर्क, यसरी बस, उसरी बस,  भन्छ । तर डोरीले न कसैलार्ई धकेल्छ, न पछाडि सर नै भन्छ ।

अन्तिम अपडेट: कात्तिक १३, २०७५

2 Comments

तपाईको प्रतिक्रिया