बिमस्टेक शिखर सम्मेलनमा संयुक्त सैन्य अभ्यास गर्ने निर्णय भएको छैन : परराष्ट्रमन्त्री

 भदौ २२, २०७५ शुक्रबार १२:३४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णय नभएको स्पष्ट पार्नु भएको छ । 

परराष्ट्रमन्त्री ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमा भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखे पनि त्यस सम्बन्धमा कुनै पनि निर्णय नगरिएको स्पष्टिकरण दिनु भएको हो । 

शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा समितिका सदस्यहरुले राख्नु भएको जिज्ञासाको जवाफ दिँदै उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन  (सार्क) लाई सक्रिय बनाउन नेपाल प्रतिबद्ध रहेको पनि बताउनु भयो । 

उहाँले सार्कलाई बिमस्टेकको विकल्पमा रुपमा लिनुहुन्न मान्यतामा सरकार दृढ रहेको पनि स्पष्ट पार्नु भयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले बिमस्टेक शिखर सम्मेलनमार्फत् नेपालले कनेक्टिभिटी, व्यापार र लगानीलाई मुख्य जोड दिएको पनि समितिलाई जानकारी दिनुभयो । 

उहाँले बिमस्टेक शिखर सम्मेलनको १८ बुँदे काठमाडाैं घोषणा पत्र कार्यान्वयनका गर्नका लागि छिट्टै सदस्य राष्ट्रहरुबीच श्रीलंकामा बैठक बस्ने तयारी भैरहेको पनि बताउनु भयो ।

बैठकमा समितिका सदस्य डा. नारायण खड्काले बिमस्टेक शिखर सम्मेलनलाई सार्कको विकल्पको रुपमा लिने गल्ती नगर्न मन्त्री ज्ञवालीको गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया