प्रधानन्यायाधीशमा सिफारिस मिश्रको संसदीय सुनुवाइ सोमबार हुने

 भदौ २२, २०७५ शुक्रबार १४:२६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ आउँदो सोमबार हुने भएको छ । 

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रको सार्वजनिक सुनुवाइ भदौ २५ गते सोमबार गर्ने निर्णय गरेको हो । बैठकले आउँदो आइतबार प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश मिश्र उपर उजुरी दिएका उजुरीकर्ताहरुलाई छलफलको लागि बोलाएको छ । जम्मा ४ वटा उजुरी परेकोमा एउटा उजुरी उजुरीकर्ताले नै फिर्ता लिन चाहेपछि फिर्ता गरिदिने निर्णय पनि बैठकले गरेको समितिमा जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

संवैधानिक परिषदले भदौ ७ गते सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय सुनुवाइ विशेष समितिले अस्विकृत गरेपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । त्यस सिफारिसलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरे राष्ट्रपति विद्या भण्डारीले मिश्रलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यसैबीच बैठकले संवैधानिक परिषदबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नवीनकुमार घिमिरे माथि सार्वजनिक उजुरीको आह्वान गरेको छ । भोलिदेखि लागू हुने गरी १० दिन भित्र उजुरी दर्ता गराउन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय बैठकले गरेको जेष्ठ सदस्य कर्णले जानकारी दिनुभयो ।

भदौ २० गते बुधबार बसेको संवैधानिक परिषदको बैठकले कार्यवाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त हुनु भएको थियो । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेबाट  दोस्रो वरीयतामा रहनु भएका घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया