डलरसँगै नेपालीले काम गर्ने देशका पैसाको भाउ बढ्यो

 भदौ २२, २०७५ शुक्रबार १४:४३:९ | सन्जिता देवकोटा

काठमाडौं – डलरको भाउ लगातार बढ्दा नेपाली काम गर्ने देशमा पनि पैसाको भाउ बढेको छ ।

डलरको भाउसँगै साउदी र कतारी रियाल, युएई दिर्हाम, मलेसियन रिंगिट, बहराइन र कुवेती दिनार लगायत विदेशी मुद्राको भाउ बढेको हो । यसबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फाइदा पुगेको छ । 

गएको आइतबार डलरको भाउ १ सय १३ रुपैयाँ ८९ पैसा रहेकोमा त्यसपछि लगातार बढ्दै शुक्रबार डलरको भाउ एकसय १५ रुपैयाँ ४८ पैसा पुगेको छ ।

आइतबार एक डलरको खरिददर १ सय १३ रुपैयाँ २९ पैसा र बिक्रिदर एक सय १३ रुपैयाँ ८९ पैसा थियो । शुक्रबार एक डलरको खरिददर १ सय १४ रुपैयाँ ८८ पैसा र बिक्रिदर एक सय १५ रुपैयाँ ४८ पैसा पुगेको छ ।

कुवेती र बहराइन दिनारको भाउ धेरै बढ्यो 

यो हप्ता कुवेती दिनार र बहराइन दिनारको भाउ सबैभन्दा धेरैले बढेको छ । कुवेती दिनारको भाउ ५ रुपैयाँ ७ पैसाले बढेको छ । यस्तै, बहराइन दिनारको भाउ ४ रुपैयाँ ३ पैसाले बढेको छ ।

आइतबार कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ २७ पैसा र बिक्रिदर ३ सय ७६ रुपैयाँ २५ पैसा थियो भने शुक्रबार कुवेती दिनार एकको खरिददर ३ सय ७९ रुपैयाँ ३४ पैसा छ र बिक्रिदर ३ सय ८१ रुपैयाँ ३२ पैसा पुगेको छ ।  

आइतबार बहराइन दिनार एकको खरिददर ३ सय रुपैयाँ ३५ पैसा र बिक्रिदर ३ सय १ रुपैयाँ ९४ पैसा थियो भने शुक्रबार खरिददर ३ सय ०४ रुपैयाँ ६५ पैसा र बिक्रिदर ३ सय ०६ रुपैयाँ २४ पैसा पुगेको छ । 

साउदी र कतारी रियाल

यो हप्ता साउदी रियालको भाउ ४२ पैसाले बढेको छ भने कतारी रियालको भाउ ४३ पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रिदर ३० रुपैयाँ ३७ पैसा थियो । शुक्रबार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ७९ पुगेको छ । 

यस्तै आइतबार कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रिदर ३१ रुपैयाँ २८ पैसा  रहेकोमा शुक्रबार कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ र बिक्रिदर ३१ रुपैयाँ ७१ पैसा पुगेको छ । 

युएई दिर्हाम 

आइतबारदेखि शुक्रबारसम्ममा युएई दिहार्मको भाउ ४४ पैसा बढेको छ । आइतबार युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०१ पैसा थियो भने शुक्रबार युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा पुगको छ । 

मलेसियन रिंगिट र कोरियन वन 

यो हप्ता मलेसिया रिंगिट भाउ १५ पैसा बढेको छ भने कोरियन वनको भाउ ११ पैसा बढेको छ । 

आइतबार एक मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५७ पैसा र बिक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेकोमा शुक्रबार बढेर खरिददर २७ रुपैयाँ ७२ पैसा र बिक्रिदर २७ रुपैयाँ ८६ पुगेको छ । 

यस्तै आइतबार १ सयको खरिददर १० रुपैयाँ १३ र बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको कोरियन वनको भाउ शुक्रबार १ सयको खरिददर १० रुपैयाँ २४ र बिक्रिदर १० रुपैयाँ ३० पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यो बेला पैसा पठाउँदा फाइदा 

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निकै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो । 

डलरको भाउ बढ्दा अर्थतन्त्रका अरु क्षेत्रमा असर परे पनि रेमिट्यान्समा फाइदा पुग्छ । यो हप्ता आइतबारदेखि शुक्रबारसम्मको अवधिमा सबैभन्दा धेरै कुवेती र बहराइन दिनारको भाउ बढेको छ । 

‘विदेशमा काम गरिरहेका नेपालीलाई पैसा पठाउने सुनौलौ मौका आएको छ’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भन्नुभयो, ‘डलरको भाउ बढ्दाको मुख्य फाइदा नै यही हो ।’

दसैँ नजिकिंदै गएको छ । धेरैजसो नेपालीले दसैँको छेका पारेर पैसा पठाउने गरे पनि अहिले पैसाको भाउ बढेकाले यो बेला पैसा पठाउँदा फाइदा हुन्छ । 

डलरको भाउ बढ्दा हुने फाइदा भनेकै विदेशमा बस्ने नेपालीले पैसा पठाउँदा हुने हो । डलरको भाउ सस्तिएसँगै अरु देशको पैसाको भाउ पनि घट्न सक्छ । त्यसैले तपाईँसँग पैसा छ र पठाउने योजनामा हुनुहुन्छ भने यो समय उपयुक्त हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • एम बि बस्नेत

    Sept. 8, 2018, midnight

    हामी माल्दिभ्समा भएका नेपालीको चाहिं किन भएन त ? जवाफ पाउँ न /

  •  0 Reply

तपाईको प्रतिक्रिया