निर्मला हत्या प्रकरणमा प्रहरी प्रमुख दोषी : छानबिन समिति

 भदौ २२, २०७५ शुक्रबार १५:३१:५५ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – निर्मला पन्तको बलात्कारपश्चात हत्याको घटनामा प्रहरीको लापर्वाही देखिएको उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले बताउनुभएको छ । 

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको पाटोलाई छोडेर लापर्वाही गरेको देखिएको बताउनुभएको हो । 

उहाँले निर्मलाको बलात्कारपश्चात हत्याको घटनालाई लिएर कञ्चनपुरमा भएको आन्दोलन बिना कारण नभएको भन्दै यसमा कतै न कतै प्रहरीको दोष भएको बताउनुभयो । ‘हिजोको त्यो अवस्था त्यसै आएको होइन’, मैनालीले भन्नुभयो, ‘त्यसमा प्रहरीको त्रुटी देखिएको छ ।’ 

उहाँले जनताले आन्दोलनमा होमिनुपर्ने अवस्था आउनुको पछाडि प्रहरीले सही रुपले अनुसन्धान नगरेको भेटिएको बताउनुभयो । ‘प्रहरीले अनुसन्धानलाई जुन तरिकाले गर्नुपथ्र्यो त्यस्तो गरेको देखिँदैन’, मैनालीले भन्नुभयो, ‘शंकास्पद पाटोलाई बेवास्ता गरेकाले नै घटनाले गम्भीर रुप लिएको हो ।’

उहाँले अनुसन्धानका क्रममा आफूहरु यस्ता थुप्रै तथ्यहरु फेला पारेको बताउँदै टोलीले प्रहरीको नयाँ अनुसन्धान टोलीलाई प्रमाण तथा तथ्यहरुका बारेमा बताएको जानकारी दिनुभयो । 

‘जनताले प्रहरीलाई नभनेका कतिपय कुराहरु हामीलाई भन्नुभएको छ’, उहाँले भन्नुभयो ‘हामी त्यो कुरा अनुसन्धानमा खटिएका नयाँ टोलीलाई भनेका छौँ । आशा गरौ चाँडै नै निष्कर्ष निस्किन्छ ।’

उच्चस्तरीय छानबिन टोलीले तात्कालीन प्रहरी प्रमुखकै कमजोरीले घटनाको निष्पक्ष छानबिन हुन नसकेको ठहर गरेको छ । ‘यो सबै घटनाको सुक्ष्म अध्ययन गर्दा प्रहरीको कमजोरी देखिएकाले हामीले तत्काल प्रमुख प्रमुख एसपी डिल्ली बिष्टलाई निलम्बन गर्न सिफारिस गर्‍याँै’, मैनालीले भन्नुभयो ‘अनुसन्धानमा खटिएका प्रहरी विभागमा झिकाइसकिएकाले अब उनीहरुसँग सोधपुछ हुन्छ ।’

उहाँका अनुसार अनुसन्धानमा अन्य प्रहरीको पनि त्रुटी भेटिए टोलीले उनीहरुलाई पनि कारबाहीका लागि सिफारिस गर्नेछ ।

समितिका संयोजक मैनालीले अनुसन्धानमा प्रहरी प्रमुखकै गैरजिम्मेवारीपन देखिएकाले उनलाई कारबाहीका लागि सिफारिस गरिएको बताउँदै अन्य प्रहरी अधिकृत र अनुसन्धानमा खटिएको टिमसँग पनि सोधपुछ गरेर आवश्यक परे कारबाहीका लागि सिफारिस गर्न सकिने बताउनुभयो । 

यता, निर्मलाको हत्या प्रकरणमा प्रहरीबाटै लापर्वाही भएको छानबिन समितिका सदस्य प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले पीडित परिवारले जानकारी गराउनासाथ  प्रहरीले खोजी कार्यमा गएको भए अपराधीको पहिचान हुन समस्या नहुने बताउनुभयो । 

गृहमन्त्रालयले निर्मलाको बलात्कार र हत्याको घटनामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धानका लागि गृहका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी भदौ ८ गते कञ्चनपुर पठाएको थियो । 

टोलीलाई प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पार्न १५ दिनको समय दिइएको थियो ।

निर्मला हत्या प्रकरणको घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानको छानबिन तथा थप अनुसन्धान गर्न कञ्चनपुर पुगेको उच्चस्तरीय छानबिन समिति शुक्रबार काठमाडौं फर्किँदैछ । 

टोलीले घटनाको छानबिन तथा थप अनुसन्धान गरिसकेकाले ३÷४ दिनभित्र प्रतिवेदन तयार पारेर गृहमन्त्रालयमा बुझाउने जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया