निर्मला हत्या प्रकरणमा एसपी बिष्ट दोषी भेटिए जागिरबाटै हटाइन्छ : आईजीपी खनाल

 भदौ २२, २०७५ शुक्रबार १८:३८:५५ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – पेशागत मर्यादालाई पालना नगर्ने र गैरजिम्मेवार तरिकाले काम गर्ने कसैलाई पनि प्रहरी संगठनभित्र ठाँउ नभएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउनुभएको छ । 

शुक्रबार ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकारको संरक्षण एवं सुरक्षा र नेपाल प्रहरीको जवाफदेहिता’ विषयक राष्ट्रिय अभियानमा बोल्दै प्रहरी महानिरीक्षक खनालले संगठन विरुद्ध र काम गर्ने जोसुकै प्रहरी कर्मचारीलाई कारबाही गरिने बताउनुभएको हो । 

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले निर्मलाको बलात्कारपछि हत्याको घटनामा भएको अनुसन्धानमा तात्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट दोषी देखिएकाले निलम्बन गरिएको बताउनुभयो । 

सहभागीले राखेको प्रश्नको जवाफ दिदै खनालले स्थानीयको आरोप अनुसार नै एसपी बिष्ट दोषी भेटिए निलम्बन मात्रै नभइ जागिरबाटै हटाइने जिकिर गर्नुभयो ।‘अहिले घटनाको अनुसन्धान भइरहेको छ’, प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘कुनै प्रहरीले त्यसमा बदमासी गरेको छ भने जोसुकै होस्, कारबाही हुन्छ ।’

जनताले प्रहरीलाई आँखा देखाउने काम गरिरहेको बताउँदै खनालले कञ्चनपुरमा आन्दोलन चर्किनु सामान्य नभएको बताउनुभयो । 

‘कञ्चनपुरमा प्रहरीको अनुसन्धानलाई जनताले किन विश्वास गर्न सकेनन् ? जनता किन आन्दोलित भए ? यो सामान्य कुरा होइन’, खनालले भन्नुभयो ‘यसको पछाडि केही न केही कारण पक्कै छ ।’

निर्मलाको बलात्कारपछि भएको हत्याले आफूलाई मर्माहित पारेको बताउँदै केही गलत प्रहरीका कारण सिंगो संगठनको शीर झुकेको बताउनुभयो । 

उहाँले घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रहरी भएकाले कुनै प्रभावमा नपरी काम गर्नुपर्ने बताउँदै नतिजामा पुग्नका लागि सहयोग गर्न आमनागरिकसँग अपील गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया