कलिलैमा विवाह, विवाह गर्ने उमेरमा सम्बन्ध विच्छेद

 भदौ २२, २०७५ शुक्रबार १९:८:५३ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुममा कम उमेरमा विवाह गर्ने र पछि सम्बन्ध विच्छेद गर्नेको संख्या उच्च रहेको पाइएको छ । 

विद्यालय र क्याम्पस पढ्दै गरेका युवायुवतीहरुले विवाह गर्ने उमेर नभई भागेर प्रेमविवाह गर्ने र पछि बिहे गर्ने उमेर हुँदै गर्दा सम्बन्ध विच्छेद गर्ने गरेको खुलेको हो । 

जिल्ला अदालतमा पछिल्ला वर्षहरुमा सम्बन्ध विच्छेदका मुद्धाको संख्या बढ्दै गएको र सम्बन्ध विच्छेद गर्ने अधिकांश महिला र पुरुषको उमेर १८ देखि ३० वर्ष हुने गरेको पाइएको छ । 

जिल्ला अदालतको तथ्यांक अनुसार पछिल्ला चार आर्थिक वर्षमा १ सय २३ जोडीले सम्बन्ध विच्छेद गरेका छन् । जसमध्ये पछिल्लो आर्थिक वर्ष २०७४/०७५ मा मात्रै जिल्लाका ४१ जोडीको कानुनी रुपमा सम्बन्ध विच्छेद भएको छ । त्यसमध्ये आधा बढी जोडीहरुको विवाह कम उमेरमै भएको र पछि सम्बन्धमा दरार आएको पाइएको छ । 

त्यो वर्ष सम्बन्ध विच्छेद गर्ने ४१ जोडीमध्ये १८–२५ वर्षका पुरुष  ५ जना र महिला ११ जना रहेका श्रेष्तेदार अम्बिकाप्रसाद दाहालले जानकारी दिनुभयो । २५–३० उमेर समूहका महिला ६ जना र पुरुष ७ जना छन् । यस्तै ३१–४० वर्ष उमेर समूहका महिला ११ जना र पुरुष १२ जना रहेका छन् । सम्बन्ध विच्छेद गर्ने जोडीमध्ये ४० माथिका महिला २ जना र पुरुष ५ जना रहेका श्रेष्तेदार दाहालले बताउनुभयो । 

कानुनले सम्बन्ध विच्छेदका लागि दर्ता हुने मुद्धामा बाल विवाह ठहर नगरे पनि सम्बन्ध विच्छेदका लागि आउनेमध्ये अधिकांश कलिलैमा बिहे गर्ने, भागेर प्रेमविवाह गर्ने र सामाजिक सञ्जालमार्फत चिनजान भएर लोभलालचमा बिहे गर्नेहरु बढी भएको उहाँले बताउनुभयो । अदालतको तथ्यांकमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०७३/०७४ मा पनि १९ जोडीको सम्बन्ध विच्छेद भएको थियो । 

जिल्लामा आर्थिक वर्ष २०७२/०७३ मा ३६ जनाले सम्बन्ध विच्छेद गराएका थिए भने आर्थिक वर्ष २०७१/०७२ मा २९ विवाहित जोडीले सम्बन्ध विच्छेद गराएका थिए । जिल्ला अदालतमा पछिल्ला वर्षहरुमा दर्ता भएका मुद्धाहरुमध्ये सबैभन्दा बढी मुद्धा नै सम्बन्ध विच्छेदका रहेका छन् । यसअघि परिवारको सहमतिमा महिलाको विवाह गर्ने उमेर १८ वर्ष र पुरुषको २० वर्ष रहेको थियो । 

तर हालै कार्यान्वयनमा आएको मुलुकी संहिताले विवाह गर्ने उमेर अझै बढाएर महिला पुरुष दुवैलाई २० वर्ष तोकेको छ । तर अघिल्लो कानुनी व्यवस्था समेत कार्यान्वयन नभएको अवस्थामा अहिलेको कानुनी व्यवस्थालाई हुबहु कार्यान्वयन गर्न निकै जटिल देखिएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया