लिफ्टबाट पानी तानेपछि उपल्लो बाँझकाँडामा सिंहदरबार आएकै भान

 भदौ २२, २०७५ शुक्रबार २०:२:२२ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – शिद्धकुमाख गाउँपालिका–१, उपल्लो बाँझकाडाकी ६१ वर्षीया डल्ली बुढाथोकीको जिन्दगी नै खानेपानीको जोहो गर्दैमा बित्यो ।

घरदेखि २ किलोमिटर टाढा रहेको जुगेखोलीको धारामा दिनभर खानेपानी भर्ने पालो नपाएपछि राति ११ बजेसम्म पनि उनी खानेपानीकै लागि लाइनमा बस्थिन् । कहिले भने बिहानै ३ बजे उठेर २ घण्टा हिँड्दै पानीकै लागि धारामा जानुपर्ने बाध्यता थियो । ‘जिन्दगी भर यही पानीकै लागि कहिल्यै सुत्न पाइन,’ डल्लीले भन्नुभयो ‘अब भने बल्ल आनन्दको श्वास फेर्न पाइएला जस्तो छ ।’

जिन्दगी भर कहिल्यै पनि राम्रोसँग सुत्न नपाएको गुनासो गर्ने डल्ली जस्तै उपल्लो वाँझकाडामा २ सय बढी परिवारले अहिले लिफ्ट प्रणालीबाट गाउँमै पानी पुगेपछि खुसियाली मनाएका छन् । लिफ्टबाट पानी तानेपछि उपल्लो वाँझकाँडामा सिंहदरवार आएकै भान भएको छ ।

गाउँभरी नाचगान सहित खुशियाली मनाइएको छ भने स्थानीयहरुले संघीयताको फल चाख्न थालेको बताएका छन् ।

लिफ्टबाट पानी तानेपछि २ सय परिवारलाई सुविधा 

खानेपानीको तीव्र समस्या झेलिरहेका शिद्धकुमाख गाउँपालिका–१, उपल्लो बाँझकाडाका दुई सय घरपरिवार लिफ्ट प्रणालीमार्फत खानेपानीको सुविधा पाएपछि खुशी भएका छन । 

वर्षायाममा समेत दुईघण्टा लगाएर पिउने पानीको जोहो गर्दै आएका उपल्लो बाँझकाँडाको ५ वडाका २ सय परिवारलाई लिफ्ट प्रणालीबाट खानेपानीको सुविधा पुर्‍याइएको शिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनुभयो । 

गाउँपालिकाको ८० लाख रुपैयाँ र स्थानीय वासिन्दाको २० लाख जनश्रमदानबाट गाउँभरी खानेपानीको सुविधा पुगेको उहाँले बताउनुभयो । एक करोडको लागतमा योजनाको काम सम्पन्न भएको उनले भने यसले साविकको बाँझकाँडाका उपल्लो क्षेत्रका २ सयभन्दा बढी घरधुरीलाई खानेपानीमा सहज पहुँच पुगेको छ । 

योजनाको बिहीबार कर्णाली प्रदेशका सल्यान जिल्ला सांसद तथा नेकपाका केन्द्रीय सदस्य गुलावजंग शाह र गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनको क्रममा शाहले स्थानीय तहप्रतिको जनताको विश्वास देखेर आफूलाई खुशी लागेको बताउनुभयो । 'अधिकार प्राप्त स्थानीय तहबाट हुँदोरहेछ भन्ने विश्वास जनतामा देखिएको छ जुन एकदमै सकारात्मक कुरा हो', उहाँले भन्नुभयो । 

एक करोडको लागतमा मेल्चौरको जुकेखोलाबाट लिफ्ट प्रणालीमार्फत खानेपानीको टयाङकी निर्माण भएको लिफ्ट सिस्टम आयोजनाका अध्यक्ष कुल बहादुर बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पञ्चायत कालमै योजना छनोट भए पनि ठूलो रकम लाग्ने भएकोले कहिल्यै योजनाले मूर्त रुप पाएन, अहिले बल्ल स्थानीय तह भएपछि हाम्रो माग पूरा भयो ।’

 

‘बिहान धारामा नगए पानी पाउन गाह्रो हुन्थ्यो, स्थानीय लैन बहादुर बुढाथोकीले भन्नुभयो, ‘पानी बोक्नाले घरायसी कामकाजमा समेत बाधा पुग्थ्यो, धेरै लामो प्रयास र स्थानीय तह बनिसकेपछि गाउँमै खानेपानी ल्याउन सफल भयौं ।’ 

उपल्लो बाँझकाँडामा बिहे गरेर आउनै नमान्ने समस्या थियो: स्थानीयवासी

खानेपानीको चरम समस्याका कारण गाउँमा प्राय बिहे गरेर आउन मान्दैनथे स्थानीय समाजसेवी लैन बहादुर बुढाथोकीले भन्नुभयो, 'बिहे गरे पनि वसाइसराइ पहिलो शर्त हुन्थ्यो ।' 

खानेपानीकै कारण उपल्लो वाँझकाडाका दुवेरी, मेल्चौर, मेलटाकुरा लगायतका स्थानबाट ठुलो मात्रामा मानिसहरुको वसाइसराइ भएको छ उहाँले भन्नुभयो । 

अबको केही दिनमै घरघरमै धारा 

एक करोडको लागतमा गाउँमा खानेपानी पुगेको भए पनि अब त्यसलाई अब घरघरमै विस्तार गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्दले बताउनुभयो ।

 
‘खानेपानी टयाङकी निर्माण भएको भए पनि बजेटको अपुग भएकाले यस वर्ष घरघरमै धारा लिन सकिएन,’ उहाँले भन्नुभयोे, ‘अब यस वर्षकै बजेटबाट घरघरमा पुग्नेगरी धारा बिस्तार हुन्छ ।’ 

सबैलाई पायक पर्ने गरी बस्तीमा पाइप विस्तार गर्नेकाम भएपछि घरघरमा धारा जडानको काम सुरु हुन्छ उहाँले भन्नुभयो । 

अबको केही महिनामै घरघरमा मिटरसहितका धारा जडान हुने उनले शिद्ध कुमाख गाउँपालिकाका सूचना अधिकृत भिम भण्डारीले बताउनुभयो । 

‘अहिले एक मिनेटमा डेढ सय लिटरसम्म धारामा पानी खसेको छ,’ उहाँले भन्नुभयो, ‘सोलार भएकोले केहि सामान्य घटवढ त हुन्छ तर २ सय परिवारलाई प्रशस्त हुन्छ ।’
 

अन्तिम अपडेट: चैत २८, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया