यो हप्ताको शेयर बजार : आँधी आउनुअघिको सन्नाटा जस्तै

 भदौ २२, २०७५ शुक्रबार २०:९:१५ | ज्याेति दाहाल
unn.prixa.net

काठमाडौं - भदौ महिनाको पहिलो हप्ता भदौरे झरीमा उठेको पानीको फोका जस्तै फुटेको शेयरबजार दोश्रो साता केही आशालाग्दो बनेर बिदा भएको थियो |

तेस्रो साता भने अचम्म लाग्नेगरी बढेर बन्द भएको छ | तेस्रो साता देखिएको उछाल देख्दा अघिल्ला २ साता आँधी आउनु अघिको सन्नाटा जस्तै भएको महसुस गरिएको छ | कारोबार, कित्ता, रकम, कम्पनी र परिसूचक सबै बढेको छ | कारोबार रकम गत हप्ता भन्दा २ सय ५९ दशमलब ३४ प्रतिशतले बढेको छ | यसहप्ता र गएको हप्ताको गतिविधि तालिकामा देखाइएको छ |

यस साता रकम, कित्ता र कारोबार सबैमा एनएमबी बैंक अग्रस्थानमा परेको छ | बैंकका ६ लाख ४६ हजार कित्ता शेयर १५ सय ४६ वटा कारोबार मार्फत २२ करोड ५० हजार बराबरको रकममा किनबेच भएको छ | रकमको आधारमा एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्सुरेन्स, कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक (संस्थापक) क्रमशः रहेका छन् |

साताको सूचीकरण

यस हप्ता निम्नबमोजिमका कम्पनीका शेयर सूचीकरण भएका छन् |

सूचकको उतारचढाव

साताभरको नेप्से सूचक र नेप्से सूचकलाई प्रभाव पार्ने समूहको उतारचढाव निम्नबमोजिम रहेको छ |

पहिलो दिन आइतबारदेखि बढ्ने क्रममा रहेको नेप्से सूचक सोमबार, मंगलबार र बुधबारसम्म निरन्तर बढेर अन्तिम दिन बिहीबार बजार बन्द हुँदा गएको साताको तुलनामा ४८ अंक र पहिलो दिनको तुलनामा ३९ अंकले बढेर बन्द भएको छ | साताको चौथो दिन बुधबारको तुलनामा अन्तिम दिन भने केही घटेर बन्द भएको छ |

समूहगत परिसूचकमा वाणिज्य बैंक समूहको परिसूचक पनि पहिलो ४ दिन बढ्ने क्रममा रहेर अन्तिम दिन घटेको छ | कारोबारमा उल्लेख्य हिस्सा राख्ने वाणिज्य बैंक समूहको पकडमा नेप्से सूचक रहेको यस साताको सूचकमा देखिएको परिवर्तनले देखाएको छ | सातामा ३९ अंकले बढेर अगिल्लो साताको तुलनामा ५१ अंकले बढेको छ | सूचक गणनामा उल्लेख्य हलचल ल्याउने नेपाल टेलिकम सूचीकृत अन्य समूह पहिलो दिनको तुलनामा झन्डै २१ र गएको साताको तुलनामा १९ अंकले बढेको छ | दुवै बीमा समूहमा पनि उल्लेख्य परिवर्तन आएको देख्न सकिन्छ |

यस हप्ता शेयर कारोबार पूरै ५ दिन खुलेको थियो |

सरकारले लाभकर गणना विधिको निर्णय यसै साता गर्ने भनिए पनि गरेको छैन | यसले पनि शेयरबजारलाई दुविधामा पारेको छ | यस साता शेयर कारोबार बढ्नुमा यही कारण पनि हुन सक्ने अनुमान गर्न सकिन्छ | ठूला वाणिज्य बैंकले अझसम्म पनि लाभांश घोषणा नगरिदिँदा बजारमा झन अन्योल बढेको छ | लाभांशसम्बन्धी आ-आफ्नै पाराले फेसबुक लगायत सामाजिक सञ्जालमा अनर्गल प्रचार गरेर शेयरबजारलाई खेलाउने मौका बैंकले दिएका छन् |

तोकिएको पूँजी पुर्‍याएपछि बैंकहरुले नगद मात्र बाँड्छन् भन्ने मनोविज्ञान लिएर बसेका लगानीकर्तालाई अहिले संजालमा अमुक कम्पनीले यति बोनस दिन्छन् उति दिन्छन् भनेर लोभ्याउने प्रयास व्यापक बनेको छ | यसले पनि लगानीबाट बोनस मात्र लिनुपर्छ अरु भनेको बेकार हो बजारमा हावी हुँदा बजारमा कृतिम वृद्धि आएको हुनसक्ने अनुमान पनि गर्न सकिन्छ |

नयाँ शेयर/डिबेन्चर

स्वदेशी लघुवित्तले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रयोजनको लागि आगामी भाद्र २५ गते १ दिन बुक क्लोज गर्ने सूचना सार्वजनिक गरेको छ | कम्पनीको हकप्रदमा सहभागी हुन चाहनेले आगामी भाद्र २४ गतेभित्र शेयर किनिसक्नुपर्ने छ | चालु रहेका र आगामी हप्ताबाट बिक्री सुरु हुने अन्य शेयर डिबेन्चर हकप्रदसम्बन्धी विवरण तालिकामा उल्लेख छ |

लाभांश घोषणा

आर्थिक वर्ष समाप्त भइसक्दा पनि ठूला कम्पनीले लाभांश घोषणा गरेका छैनन् | केही स-साना कम्पनीले मात्र लाभांश घोषणा गरेका छन् | सामान्यतया भाद्र महिनामा नै साधारणसभाको लागि बुक गरिसक्ने बैंकले पनि लाभांश घोषणा गर्न ढिलाई गरेका छन् |

कम्तीमा २१ दिनको सूचना निकालेर मात्र साधारणसभा सम्पन्न गर्नुपर्ने हुँदा आगामी साताबाट लाभांश घोषणा र साधारणसभाको लागि बुक समेत आउनसक्छ | बैंकिंग सस्थामा साधारणसभा घोषणा गर्नेमा आईसीएफसी फाइनान्स पहिलो भएको छ | अहिलेसम्म घोषित लाभांश विवरण तालिकामा उल्लेख गरिएको छ |

 

पारित लाभांश

कम्पनीले घोषणा गरेका लाभांश नियमक हुने कम्पनीको हकमा नियमकबाट स्वीकृत भएपछि साधारणसभाबाट पारित हुनुपर्छ भने नियमन नहुनेको हकमा संचालक समितिले सिफारिस गरी साधारणसभाले पारित गर्नुपर्छ | म्युचुअल फण्डले भने साधारणसभा गर्नुपर्दैन | इकाई धनी कायम गर्न बुक क्लोज गरेपछि प्रस्ताव गरिएको लाभांश पारित भए सरह हुन्छ | अहिलेसम्म म्युचुअल फण्डको मात्र लाभांश पारित भएको छ | पारित भएका लाभांशको सूची तालिकामा प्रस्तुत गरिएको छ |

मनोनयन र नियुक्ति

कुमारी बैंकका सञ्चालक नरेश दुगडको राजीनामापश्चात रिक्त स्थानमा ऋषि अग्रवाललाई बाँकी अवधिको लागि मनोनयन गरिएको छ | जलविद्युत लगानी तथा विकास कम्पनीका सञ्चालक मनोज ज्ञवालीले राजीनामा गरेका छन् | ज्ञवाली ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् | नाडेप लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शारदाप्रसाद कट्टेलले राजीनामा गरेका छन् | रिक्त पदमा नायव प्रमुख कार्यकारी अधिकृत अमृतप्रसाद रुपाखेतीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मुकरर गरेको छ | प्राइम लाइफ इन्सुरेन्सले अमृत खरेललाई स्वतन्त्र सञ्चालकमा मनोनयन गरेको छ |

नेपाल बंगलादेश बैंकले विश्वप्रकाश पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको छ | सगरमाथा इन्सुरेन्सका सञ्चालक अशोककुमार तोदीले राजीनामा गरेका छन् | साल्ट ट्रेडिङ कर्पोरेशनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहसचिव मुकुन्दप्रसाद पौडेलको सट्टा अर्का सहसचिव नवराज ढकाललाई सञ्चालकमा मनोनयन गरेको छ | स्वरोजगार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत एवम कम्पनी सचिव उदयराज खतिवडाले राजीनामा गरेका छन् | रिक्त पदमा नायव प्रमुख कार्यकारी अधिकृत मनोजकृष्ण उप्रेतीलाई पौष ४ सम्मको लागि निमित्त तोकेको छ | मिर्मिरे लघुवित्तले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ |

साधारण तथा विशेष सभा

कम्पनीहरुले साधारणसभा समेत सुरु गर्न थालेका छन् | विशेष प्रस्ताव पारित गर्न विशेषसभा समेत बोलाएका छन् |

अन्य गतिविधि

युनाइटेड फाइनान्सले आर्थिक वर्ष ०७३/७४ को वार्षिक साधारणसभाबाट पारित १९ प्रतिशत बोनस शेयर वापत लाग्ने कर तिर्न शेयरधनीलाई अपिल गरेको छ | सिद्धार्थ बैंकले जारी गर्न लागेको १० दशमलव ५ प्रतिशत सिद्धार्थ बैंक डिबेन्चर २०८२/२०८३ लाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले रेटिङ दिएको छ | बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्दैछ | धितोपत्र बोर्डले चौतारी लघुवित्तलाई साधारण शेयर निष्काशन गर्ने अनुमति दिएको छ |

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी र आशा लघुवित्तले साधारण शेयर जारी गर्न अनुमति मागेका छन् | ग्रीन लाइफले स्थानीयका लागि र बाँकी २ वटा कम्पनीले सर्वसाधारणका लागि अनुमति मागेका हुन् |

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया