रणबीर कपूरले महिलाको आवाजमा गरे लिप सिंक

 जेठ २०, २०७५ आइतबार १५:१३:५६ | उज्यालो सहकर्मी

अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक ‘सञ्जु’ मा रणबीर कपूर सञ्जय दत्तको भूमिकामा छन् ।

सञ्जय दत्तकी प्रेमिकाहरुमध्ये उनकी पहिलो प्रेमिका टिना मूनिमको भूमिकामा अभिनेत्री सोनम कपूर रहेकी छिन् । रोचक कुरा त यो छ कि यस फिल्ममा सञ्जयकी पूर्व प्रेमिकाको भूमिकामा रहेकी सोनम रणबीरकी बास्तविक जीवनकी पूर्व प्रेमिका हुन् ।

‘सञ्जु’ को ट्रेलर सार्वजनिक भएसँगै दर्शकहरु यो फिल्म हेर्नका लागि निकै आतुरताका साथ पर्खिरहेका छन् । ट्रेलर पछि यस फिल्मको पहिलो गीत पनि सार्वजनिक भएको छ । ‘मे बढिया, तू भी बढिया’ बोलको यस गीतमा रणबीरले महिला गायिकाको आवाजमा लिप सिंक गरेका छन् । 

 

यस गीतमा गायक सोनु निगम र सुनिधि चौहानले आवाज दिएका छन् । गीत सन् १९८० को दशकको सेटमा निर्माण गरिएको हो । यसमा रणबीर कपूर र सोनम कपूरको रेट्रो लूकले यो जोडी झनै सुन्दर देखिएको छ । यो गीत सार्वजनिक भएलगत्तै दर्शक तथा प्रशंसकहरुले सामाजिक सञ्जालमा रणबीर र सोनमको जोडीकोे प्रशंसा गरिरहेका छन् । 

फिल्ममा रणबीर कपूर र सोनम कपूरका अलावा परेश रावल, दिया मिर्जा, विक्की कौशल, मनीषा कोइराला लगायतका कलाकारको मूख्य भूमिका रहेको छ । राज कुमार हिरानीद्वारा निर्देशित यो फिल्म जून २९ मा प्रदर्शन हुनेछ ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया