‘दिवानी तिम्रो दिवाना’ बाट गायिका श्रेयसी

 भदौ २३, २०७५ शनिवार १२:४५:१७ | दिलिप कुमार ज्याेति
unn.prixa.net

‘सानै छु आमा म छोेरी आज पराई घर जाँदिनँ’, ‘जीवन एउटा घामछाँया हो’  । सुन्दा बालगीत जस्तो लाग्ने यी गीतका ओजनदार शब्दहरुले ०६४–६५ सालतिर पूर्वेली संगीत अनुरागीहरुको मनमस्तिष्क जितेको थियो ।

कृष्णभक्त राईको शब्द, संगीतमा दिवानी चेम्जोङ लिम्बूको स्वर रहेको गीति संग्रह ‘साइन’का यी गीतहरुले त्यो समयका पूर्वका अरु गीतहरुलाई समेत छायाँमा पारेको थियो । 

८ वर्षको उमेरमा देशव्यापी आधुनिक गीत प्रतियोगितामा दिवानीले भाग लिँदा जिब्रो काट्नेहरु धेरै थिए । ‘यति सानो नानी बालगीतमा पो भाग लिनुपर्छ त’ प्रतिस्पर्धीहरुले भनेका थिए । मीरा राणा, कृष्णभक्त राई लगायतका वरिष्ठ कलाकारहरु निर्णायक रहेको यो प्रतियोगितामा दिवानीले पूर्णचन्द्र जबेगु लिम्बूको शब्द, संगीतमा ‘छोडेन कहिल्यै डोको र नाम्लोले’ बोलको गीत गाएर छैठौं स्थान हासिल गरेकी थिइन् । दिवानीको यो प्रतिभालाई मध्यनजर गर्दै कृष्णभक्तले आठै वर्षको उमेरमा गीति संग्रह ‘साइन’ तयार पारेका थिए । 

धनकुटाको बसन्तटारमा देउसी, भैलो सकिएलगत्तै गाउँका सबै जम्मा भएर तिहार समापनको कार्यक्रम गरिन्थ्यो । ६ वर्षको उमेरमा दिवानीले पहिलो पटक यही ठाउँमा गीतको तालमा कम्मर मर्काएकी थिइन् । दिवानीको जन्मजातै नाच्न र गाउन सक्ने प्रतिभाबाट दाइ पूर्णचन्द्र लिम्बू (फुपूका छोरा) परिचित थिए ।  गीत, संगीत प्रेमी पूर्ण बाँसुरी, हारमोनियम बजाउनुका साथै गीत पनि गाउँथे । उनैले पहिलो पटक दिवानीलाई गीत गाउन स्टेजमा उतारे ।

गाउँमा गीत, संगीत र नृत्य सिकाउने क्लब नै गठन गरिएको थियो । कतै कार्यक्रम परिहाले सबै जान्थे । दिवानी पनि यसको सदस्य थिइन् । देउसी, भैलोमा क्लबले उठाउने एकमुष्ट रकम भन्दा ६–७ वर्षकी दिवानीको कमाई बढी हुन्थ्यो । यो उमेरमै सुर ताल मिलाएर ‘म्यूजिक ट्र्याक’मा गीत गाउँथिन् दिवानी ।  

दिवानीका पिता (तसार सिङ चेम्जोङ) कामको सिलसिलामा भारत गइरहन्थे । सायद हिन्दी चलचित्रको प्रभाव हुनुपर्छ । उनले आफ्नो कान्छी छोरीको नाम दिवानी राखिदिए । ९–१० वर्षको स्कुले जीवनमै ‘सेलिब्रेटी’ जस्तो स्टेजमा जमेकी दिवानीले झापा आसपासका उर्लाबारी लगायतका ठाउँमा स्टेज कार्यक्रममा गीत गाउँदा दर्शक दीर्घाबाट ‘दिवानी म तिम्रो दिवाना ’ जस्ता ‘हुटिङ’ आउँथे । दर्शकले प्रेमपूर्वक ‘दिवानी म तिम्रो दिवाना’ भने पनि दिवानीलाई यो ‘हुटिङ’ले कता कता भित्र बिझाउँथ्यो । पछि परिवारकै सल्लाहमा मामा गीतकार भानेन्द्रकुमार साम्बाहाम्फेले १२ वर्षको उमेरमा दिवानीको सट्टा श्रेयसी नाम जुराइदिए । 

गायनकै लागि काठमाडौं छिरेकी श्रेयसीको संगीत यात्रा त्यति सहज थिएन । परिवारबाट टाढा रहेर आफन्तको साहाराले मात्र यो शहरमा टिक्न सहज छैन । स्कुलसँगै ‘करियर’ अगाडि बढाउन झन् गाह्राे । गीत संगीतले नाम, दाम र काम त दियो श्रेयसीलाई । तर प्रसिद्धिसँगै केही अपजसको सामना पनि गर्नुपर्‍यो उनले । 

०६९–७० सालको कुरा सम्झँदै श्रेयसी भन्छिन्, ‘१५— १६ को उमेरमा ‘डिप्रेसन’का कारण संगीत क्षेत्र नै छोडिदिउँ जस्तो भएको थियो । म सानैदेखि मामा  भानेन्द्रकुमार साम्बाहाम्फेसँग (गीतकार) बस्थे । उहाँकै सहयोगमा गायनलाई अघि बढाउँदै थिएँ । पछि आफन्तबाटै कुरा काटिन थाल्यो । सुनको अण्डा पार्नेलाई भानेन्द्रले बन्दी बनायो, आर्थिक शोषण गर्यो भनेर । यस्तो लान्छना लाग्यो मामालाई । मेरो कलिलो मस्तिष्कमा यो कुराले ठूलो आघात पुर्‍यायो । केही समय तनावबाट गुज्रनुपर्‍यो मैले ।’ 

नरहरि प्रेमी, चण्डी काफ्ले, गुरुदेव कामद र पण्डित इन्दुप्रकाश त्रिवेदीसँग संगीतको शिक्षा लिएकी श्रेयसी आधुनिक संगीतको धारलाई पछ्याउन मन पराउँछिन् । २० वर्षे यो उमेरमा उनका समकालीन संगीतकर्मीभन्दा उनको संगीत बुझाई परिपक्व छ । ‘बजारमा चल्नु नचल्नु भन्दा पनि वर्षमा एउटा राम्रा–राम्रा गीतहरुको संग्रह निकाल्न पाउँ । गीतको संख्या बढाएर मात्र ‘हिट’ भइँदैन राम्रो पनि हुनुपर्‍यो । चर्चामा आएका गीतहरु सबै राम्रा काहाँ छन् र’ श्रेयसी भन्छिन् ।

‘भ्वाइस टेक्स्चर’ र गायकी राम्रो हुँदाहुँदै पनि आफ्ना समकालीन भन्दा पछि परेकोमा कुनै गुनासो छैन श्रेयसीलाई । ‘म भर्सटायल त हुँ । तर मेरो लगाव ‘सेन्टिमेन्टल’तर्फ अलि बढी छ । बजारमा जुन ‘प्याटर्न’को गीतमा जम्यो त्यसैले पछ्याइरहन्छ’ उनी भन्छिन्, ‘भर्सटायल’ भन्दैमा उच्छृङ्खल ‘आइटम’ गीत पनि गाउन मिलेन । तत्काललाई ‘हिट’ भए पनि यसले पार्ने असर दीर्घकालीन हुन्छ । अहिले बजारमा चलेका कतिपय ‘आइटम’का ‘अफर’ नआएका होइनन् । म आफैं पन्छिएकी हुँ ।’ 

संगीत उद्योगमा अहिले निकै प्रतिस्पर्धा छ । ‘युट्यूबको ट्रेण्डिङ’ हेरेर गीत संगीतको वर्गीकरण गरिन्छ । नयाँ प्रविधिका अनेक प्रयोगले सुरविहीनहरुको पकड छ बजारमा । वास्तविक गायक गाियका गुमनाम छन् । आर्थिक अभाव र नयाँ प्रविधि प्रयोग गरेर ‘म्यूजिक भिडियो’ बनाउन नसक्दा राम्रा गीतहरु बजारमा आउनुपहिले नै हराउँछन् । ‘फास्ट बिट’का नाच्न मिल्ने गीतहरुको बोलवाला रहेको बजारमा स्थापितहरुलाई पनि जम्न गाह्राे छ । 

त्यसमाथि गीत गाइहालौं र ‘हिट’ भैहालौं भन्ने नवप्रवेशी ‘फिमेल सिङ्गर’हरुको लागि केही अप्ठ्याराहरु औंल्याउँदै श्रेयसी भन्छिन्, ‘कोही–कोही कम्पोजर प्राक्टिसमा बोलाउँदा साथी लिएर गयो भने किन साथी लिएर आएको । एक्लै आउ भन्छन् । महिलाको लागि संगीत क्षेत्र अझै पनि सहज छैन । केही ‘कम्पोजर’का कारण संगीत क्षेत्र नै बदनाम पनि छ । यस्तो कुराबाट अति महत्वकांक्षी युवापुस्ता सचेत हुनुपर्छ । र यो प्रवृत्तिको पर्दाफास गर्नुपर्छ ।’

‘मलाई तिम्रो सम्झनाले,’ ‘म तिम्रो हुँला नहुँला,’ ‘हाँसी हाँसी मायाले जहर पिलायो,’ ‘पराइको काखमा रमाउ,’ ‘कैयौं प्यासी रातहरुले’ जस्ता जीवन्त गजल र गीतहरु गाएकी श्रेयसीले ‘श्रीमान’ ‘मेरो राजेश दाइ’, ‘तिम्रो कसम’ र ‘कुईनेटा’ चलचित्रका लागि पनि आफ्नो आवाज दिएकी छिन् । चारसय गीतमा स्वर भरिसकेकी श्रेयसीले साइन, संपदा—१, संपदा—२ जस्ता एकल गीति संग्रहहरु नेपाली संगीतलाई दिइसकेकी छिन् । 

सानैदेखि ‘स्टेज प्रोग्राम’मा हिन्दी गीतहरुको ‘म्यूजिक ट्र्याक’ र ‘कभर सङ’मा पनि रमेकी श्रेयसीको लता मंगेशकरका केही गीतहरुको ‘कभर भर्जन’ पनि छन् । 
गायकी उत्कृष्ट भएपनि हिन्दी शब्द उच्चरणमा केही अस्पष्टता भएको संगीत अनुरागीहरुको प्रतिकृयालाई स्वीकार्दै उनी भन्छिन् ‘संगीत मनसँग मन जोड्ने माध्यम हो । महान गायिकाको गीतले मलाई मात्र होइन, सबैलाई आकर्षित गर्छ । संगीतमा भाषा र क्षेत्रीयता गौण हुन्छ । लताको गीतले गायकी निखार्न मद्दत गर्छ । त्यसैले गाएकी हूँ । यसको मतलब नेपाली गीतले गायकी निखार्दैन भन्न खोजेकी होइन । अरुणा लामा, तारा देवी जस्ता अग्रजहरुको गीत ‘रियाज’ले नै म याहाँसम्म आइपुगेकी हूँ ।’ 

अन्तिम अपडेट: भदौ ३१, २०७५

दिलिप कुमार ज्याेति

कला मनाेरञ्जनमा कलम चलाउने ज्याेतिलाई फेसबुकमा भेट्न सकिन्छ। 

 

1 Comments

  • Bishnu Angbuhang

    Sept. 14, 2018, 3:14 p.m.

    बाल गायिकाको रुपमा हेरेको बुनु श्रेयशी अहिले परिपक्व गायिका जो लाखौंको दिल दिमागमा बस्न सफल भैसकेकी छिन। अघाडी बढिरहनु बुनु।

तपाईको प्रतिक्रिया