राहदानीका लागि झुठा विवरण दिएमा वा कुनै कसुर गरेमा बिना पूर्जी पक्राउ गरिने, ५ लाखसम्म जरिवाना

 भदौ २३, २०७५ शनिबार १६:५७:३३ | रासस

काठमाडौं – नेपाल सरकारबाट जारी हुने राहदानीका लागि झुटा विवरण दिएमा वा राहदानीसम्बन्धी कुनै कसुर गरेमा बिना पूर्जी पक्राउ गरी कारबाही गरिने भएको छ । 

सरकारले झुटा विवरण दिई राहदानी वा यात्रा अनुमति पत्र लिएमा वा लिने प्रयत्न गरेमा, राहदानी वा अनुमतिपत्र नलिई विदेश भ्रमण गरेमा वा भ्रमणको प्रयत्न गरेमा तुरुन्तै नियन्त्रणमा लिनसक्ने कानून ल्याउने भएको छ । 

प्रस्तावित राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा नेपाल सरकारले दिएको निर्देशन पालना नगरेमा, आफ्नो राहदानी अर्कालाई प्रयोग गर्न दिएमा वा अर्काको राहदानी प्रयोग गरेमा, राहदानीमा फोटो वा विवरण सच्याएमा, अन्य व्यक्तिको राहदानी निजको अनुमति नलिई बद्नियतपूर्वक नियन्त्रणमा लिएमा कसुरदार ठहर गरी कारबाही हुने भएको छ ।

मौजुदा राहदानी ऐन, २०२४ का व्यवस्थामा समय सापेक्षरुपमा परिमार्जन गर्न तथा नयाँ संविधान प्रतिकूल बनाउन सरकारले प्रतिनिधिसभामा नयाँ विधेयक लगेको छ । विधेयक अहिले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा विचाराधीन छ । 

राहदानीको दुरुपयोग गरिएमा अनसुन्धान गर्ने कानूनी संरचनाको स्थापना गर्दै विगतको भन्दा कडा दण्ड सजायको व्यवस्था गरिएको छ । सांसद र उच्च पदाधिकारी पनि राहदानी कसुरमा पर्ने सन्दर्भमा विधेयकले कडाइ गरेको हो । 

विधेयकमा राहदानी कसुरमा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एकदेखि तीन वर्षसम्म कैद वा दुबै कारबाही पनि हुनसक्ने उल्लेख छ । कसुरदारका मतियारलाई पनि कारबाही हुने विधेयकमा व्यवस्था छ । 

नागरिकको विदेश जाने र आउने क्रमलाई व्यवस्थित गर्न तथा नागरिक उडड्यन सङ्गठन (आइकाओ)का नीतिगत मान्यतालाई सम्बोधन विधेयकले व्यवस्था गरेको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले बताउनुभयो । 

उहाँले सूचना प्रविधिको विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित नवीनतम मूल्य मान्यताका आधारमा विधेयक तर्जुमा गरिएकाले राहदानीको दुरुपयोग रोक्न विभिन्न सुरक्षा मादपण्डसमेत प्रस्ताव गरिएको उल्लेख गर्नुभयो । 

चार प्रकारका राहदानी

विधेयकमा चार प्रकारका राहदानी जारी हुने व्यवस्था गरिएको छ । 

सरकारी कामको सिलसिलामा विदेश जाने तोकिएका पदाधिकारी र उच्चपदस्थ अधिकारीका लागि कुटनीतिक, सरकारी निर्णयबाट कुनै अध्ययन, भ्रमण र तालीममा जाने कर्मचारी तथा पदाधिकारीलाई विशेष, विदेशस्थित नेपालको नियोगमा खटिएर जाने कर्मचारीलाई सर्भिस र नेपाली नागरिकलाई साधारण गरी चार किसिमका राहदानी जारी हुनेछन् । 

राहदानीबाहक नेपाली नागरिक नरहेमा वा कसैले गैह्रकानूनी रुपमा राहदानी प्राप्त गरेका स्वतः त्यस्तो राहदानी  खारेज हुने व्यवस्था पनि विधेयकमा गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया