को आधा नेपाली ? को पूरा नेपाली ? हामी सबै अफ्रिकी : बाबुराम भट्टराई

 भदौ २३, २०७५ शनिबार १७:३७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पत्रकार बसन्त बस्नेतको ‘७२ को विस्मयः संविधान, मधेस, नाकाबन्दी’ पुस्तक शनिबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, राजपा नेता महन्थ ठाकुर तथा राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको थियो । 

कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादवले कोही नेता तथा पत्रकारहरु जान नसकेको अवस्थामा वसन्त बस्नेतले मधेस झरेर सूचना समेटी पुस्तक तयार पारेको बताउनुभयो । फिल्डबेस पुस्तक भएकोले मधेसलाई बुझ्न यो पुस्तक अति उपयोगी भएको उहाँले बताउनुभयो । पूर्वराष्ट्रपति यादवले पहिलो संविधानसभाबाट नै संविधान बन्छ भन्नेमा आफू ढुक्क भए पनि दूर्भाग्यवश त्यसो हुन नसकेको बताउनुभयो । नेपालका राजनैतिक दलहरु संविधान बनाउनेतर्फ भन्दा पनि सत्ताको पछि लागेकोले समयमा काम हुन नसकेको उहाँले बताउनुभयो । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले लेखकले अत्यन्तै जोखिम र वर्जित विषयमा कलम चलाएको बताउनुभयो । उहाँले लेखकले आफ्नो लेखन सन्तुलित बनाउन आफ्ना कुरा भन्न डराएको जस्तो देखिएको बताउनुभयो । उहाँले मानव जाति सबैको पुर्खा होमोसेपियन्स भएको बताउँदै को नेपाली, को आधा नेपाली र को पूरा नेपाली भन्ने बहस गर्न आवश्यक नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सबैको ओरिजन अफ्रिका भएकाले हामी सबै अफ्रिकी ।’ भट्टराईले बहुभाषिक र बहुसांस्कृतिक भएकोले नेपाल ‘रेन्बो नेसन’ भएको पनि बताउनुभयो । 

पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मधेसको पनि उत्तिकै योगदान रहेको बताउनुभयो । उहाँले लेखकले पुस्तकमा ‘नेपालको संविधान २०७२’ भनेर उल्लेख गरिएको भन्दै सामान्य त्रुटिहरु पुस्तकमा रहेको बताउनुभयो । सबै क्षेत्र र समुदायलाई समेट्न २०७२ सालमा जारी संविधानलाई ‘नेपालको संविधान’ मात्रै भनिएको नेम्वाङको भनाई थियो ।  

त्यस्तै, मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले नाकाबन्दी र मधेस आन्दोलनलाई लेखकले पुस्तकमा विस्तृत तरिकाले उठान गरेको बताउनुभयो । तर पनि लेखकले ‘इतिहास विजेताकै लेखिन्छ’ उक्तिकै अनुसरण गर्दै उत्पीडित समुदायका कुरा नउठाएको बताउनुभयो ।  मधेस आन्दोलनलाई ‘ग्लोरिफिकेसन’ गर्न सक्ने ठाउँमा पनि लेखक हिच्किचाएको अन्सारीले बताउनुभयो । कतिपय ठाउँमा लेखकीय स्वतन्त्रतालाई मध्यनजर गर्दै परम्परागत पर्खाल भत्काउन सक्ने अवस्थामा पनि लेखक चुकेको आरोप अन्सारीले लगाउनुभयो । 

त्यस्तै राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले २०७२ सालमा घटेका घटनाहरु विस्मयकारी भएको भन्दै लेखक पुस्तकमा तटस्थ रुपमा प्रस्तुत भएको बताउनुभयो । लेखकले कसैको पक्षमा आफूलाई नउभ्याए पनि मधेस आन्दोलनमा सबैको गल्ती देखाएको ठाकुरले बताउनुभयो । उहाँले सप्तरी गोलीकाण्डमा राज्यको नै गल्ती भएको बताउनुभयो, ‘सप्तरी गोली काण्डका बारेमा संविधान उल्लंघन गर्ने को हो ? राज्य हो कि नागरिक हो भन्ने कुरा यथार्थ बाहिर आउनुपर्यो । 

कानुनको उल्लंघन मधेसीहरुले गरेका होइनन्, राज्यले गरेको हो । हजारौं निर्दोष मधेसी नागरिकमाथि झुठो मुद्दा चलाइएको छ ।’ मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको पुनःस्थापनाका लागि राज्यले उपेक्षा गरेको ठाकुरले आरोप लगाउनुभयो । नेपालमा रहेको ‘कमन आइडेन्टी’ लाई राज्यले नै ध्वस्त बनाइरहेको अवस्थामा लेखकले सबै पक्षलाई समेट्न खोजेको ठाकुरले बताउनुभयो ।  सीता, जनकजस्ता महान व्यक्तिहरुको भूमिमा नागरिकले त्रसित वातावरणमा जीवन बिताउने अवस्था रहेको ठाकुरले बताउनुभयो  ।

पत्रकार बसन्त बस्नेतको पुस्तक ‘७२ को विस्मय : संविधान, मधेस, नाकाबन्दी’ फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हो । 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया