भारतले मधेसलाई माया गर्छ भन्ने भ्रममा नपर्न मधेसी नेतालाई डाक्टर भट्टराईकाे आग्रह

 भदौ २३, २०७५ शनिबार १८:१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले भारतले नेपालको मधेस र मधेसी नागरिकको हित चाहन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

काठमाडौमा पत्रकार बसन्त बस्नेतको पुस्तक ‘७२ को विस्मय : संविधान, मधेस, नाकाबन्दी’ को विमोचन कार्यक्रममा उहाँले भारतीय संस्थापनले मधेस र मधेसीको हित चाहन्छ भन्ने भ्रममा परेर भारतसँग धेरै अपेक्षा नगर्न मधेश केन्द्रित दलका नेताहरुलाई आग्रह गर्नुभएको हो । ‘भारतले काठमाडौं र काठमाडौंका शासकहरुसँगै सहकार्य गरेर आफ्ना स्वार्थ पूरा गर्ने हो’, भट्टराईले भन्नुभयो, ‘त्यसैले भारतले हाम्रो पक्षमा कुरा उठाइदिन्छ वा समर्थन गर्छ भन्ने आश गरेर धेरै आशा नगर्न म मधेश केन्द्रित दलका नेताहरुलाई आग्रह गर्छु ।’ संविधान जारी गर्ने बेला भारतले ‘धर्मनिरपेक्षता’ नराख्न  दबाब दिएको बताउनुभयो । 

आफूले भारतमा १० वर्षभन्दा बढी समय बिताएको तथा प्रधानमन्त्री भएका बेला भारतीय पक्षले गर्ने आग्रह अनुरोध र चाहनाका आधारमा भारतले मधेससँग नभएर काठमाडौं र यहाँका नेताबाटै आफ्ना माग पूरा गराउन चाहेको बुझेको भट्टराईको दावी थियो । 

हरेक देशले परराष्ट्रको मामिलामा आ-आफ्नो स्वार्थ हेर्ने भएकाले कुनै पनि देशले वा छिमेकीले आफ्ना लागि काम गरिदिन्छ भन्ने सोच्नु नै मुर्खता हुने भट्टराईको भनाई थियो । 

काठमाडौंलाई तराईसँग जोड्ने द्रुत मार्ग पनि आफूले नै पाउनु पर्ने भन्दै  नेपाललाई दबाब दिएको भट्टराईले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया