हेलिकप्टर दुर्घटना : यसरी गरियो घाइतेको उद्धार

 भदौ २३, २०७५ शनिबार २०:३७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - दुर्घटनाको खबर पाउनासाथ हामी उद्धारका लागि त्यसतर्फ लाग्यौं । दुर्घटना भएको जानकारी पाए पनि दुर्घटनास्थल फेला पर्न सकिरहेको थिएन । पहिलो कुरो मौसम निकै नै खराब थियो । त्यसैले पनि दुर्घटनास्थल फेला पार्न गाह्रो परिरहेको थियो ।

दोस्रो कुरो डाँडाकाँडा तथा कठिन भौगोलिक क्षेत्रमा दुर्घटना भएकाले पनि सहजै घटनास्थल भेट्न मुश्किल पर्यो । तर निकै लामो प्रयासपछि हामी घटनास्थलको पहिचान गर्न सफल भयौं । झण्डै ३/४ वटै हेलिकप्टर खोजीमा निस्किएको थियो । सबै टोलीको समन्वयमा नै हामी दुर्घटनामा परेको हेलिकप्टरसम्म पुग्यौं ।

निकै मेहनतपछि दुर्घटनास्थल त फेला पर्यो । तर फेला परेको त्यो स्थान ज्यादै अनकन्टार ठाउँमा थियो । लंगलाईन अर्थात स्लिङ अप्रेसन गर्न हामीलाई निकै कठिनाई आइपर्यो । जियोग्राफी रुपमा अनि मौसमका कारण हामीलाई उद्धारमा कठिनाई भयो ।

मौसम केही क्लियर भएको मौकामा हामीले घटनामा गम्भीर घाइते भएका एक जनाको उद्धार गर्न सक्यौं । 

अन्य सबै मृत अवस्थामा फेला परेको र एक जना मात्रै जीवित रहेको र जीवित रहेको व्यक्ति पनि गम्भीर अवस्थामा रहेकाले हामी उतिबेलै आवश्यक उपचार गराउने ध्याउन्नमा लाग्यौं । घटनास्थलमै पुगेर उपचार सेवा दिनु सम्भव नभएकाले घाइतेलाई झण्डै ५ सय मिटर टाढा खुला ठाउँमा लगेर हाम्रो टोलीले प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गरायो । घाइतेलाई बचाउने कसरतमा हामीले सकेको इफोर्ट लगायौं ।

हामीसँगै अन्य विभिन्न टोली पनि उद्धारका लागि हुनुहुन्थ्यो । अन्य टोली त्याहाँको अवस्था सम्हाल्नेतर्फ लाग्नुभयो । हाम्रो मोबाइल आइसीयू टोलीको उद्धेश्य नै गम्भीर घाइतेको जीवन यथाशक्य बचाउनु थियो । हामी त्यही जिम्मेवारी निभाउन लागि पर्यौं ।

घाइतेलाई फेला पार्दा उहाँको अवस्था हाइपोथर्मिया अर्थात शरीर एकदमै चिसो थियो । साथै उहाँ निकै पीडामा हुनुहुन्थ्यो । हामीले त्यहीँबाट उपचार सुरु गर्यौं र तत्काल अस्पताल लैजानु पर्छ भनेर हामीले घाइते बोकेर अस्पताल ल्याइपुर्यायौं । अहिले उहाँको उपचार हुँदै छ ।

अहिले उहाँको जीसीएस  केही राम्रो छ । उहाँलाई बढी मात्रामा फोर्स गरेर सोधेमा केही प्रतिकृया दिनुहुन्छ ।

उहाँको जीवन बचाउनु नै अहिले हाम्रो पहिलो प्राथमिकता हो । हामी त्यसैमा लागि परेका छौं । अन्य सोधपुछतिर स्वास्थ्यमा केही सुधार आएपछि मात्रै हाम्रो ध्यान जाने छ । उहाँको अवस्था सामान्य भएपछि मात्रै दुर्घटना कसरी भएको थियो भन्नेबारेमा थप जानकारी आउने छ । 

घाइतेको स्वास्थ्यमा सुधार आउन केही समय लाग्छ नै । अहिले बचाउने प्रयास मात्रै भइरहेको छ । हामीले अहिले उहाँलाई इमर्जेन्सीमा राखेर उपचार गराईरहेका छौं । विभिन्न जाँच र परीक्षणहरु सकेपछि आइसीयूमा राखेर उहाँको थप उपचार हुन्छ ।

शरीरका विभिन्न अंगहरुमा पुगेको क्षतिको सर्जरी गर्नुपर्ने अवस्था छ । केही समय लाग्छ । हामी उहाँलाई यथाशक्य चाँडो तन्दुरुस्त बनाउने प्रयासमा हुने छौँ ।

दुर्घटनास्थल क्षतविक्षत थियो । मृतकहरुको शव छरिएको अवस्थामा थियो । दुर्घटनामा परेको हेलिकप्टरको अवस्थामा पनि त्यस्तै थियो ।

हामीले भेट्दा घाइतेले सामान्य दुई चार कुरा मात्रै भन्न सक्नु भयो । हेलिकप्टर दुर्घटनामा पर्दै गर्दा म उछिट्टएर बाहिरिएँ भन्ने कुरा उहाँले हामीलाई बताउनु भयो । अन्य कुराहरु हामीले पनि सोध्न सक्ने अवस्थामा थिएन । किनभने पहिले उहाँको ज्यान बचाउनु हाम्रो लागि ठूलो कुरो थियो ।

तर उहाँको भनाइ अनुसार हल्लिँदै र रुखहरुमा ठोक्किँदै दुर्घटनामा परेको हेलिकप्टरबाट उहाँ उछिट्टिनु भएकाले बाँच्नु भएको हो । उछिट्टिएर शरीर घाइते अवस्थामा भए पनि उहाँले नै फोन गरेर उद्धारको लागि भन्नुभएको रहेछ ।

मेडासिटी अस्पतालका डा.सञ्जय कार्की र डा.रमेस न्यौपानेको मोबाइल आइसीयू टोलीले सिम्रिक एयरसँगको सहकार्यमा घाइते डोल्मा डिकीलाई जीवितै उद्धार गर्न सफल भएको हो । मोबाइल आइसीयू टोलीसहित घाइतेलाई सिम्रिक एयरका क्याप्टेन विवेक खड्काले काठमाडौंसम्म लिएर आउनु भएको हो । 

(उद्धारमा संलग्न मेडिसिटी अस्पतालका डा.सञ्जय कार्कीले पत्रकार सम्मेलनमा दिएको जानकारीमा आधारित)

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया