मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती मनाईंदै

 भदौ २३, २०७५ आइतबार ५:२३:३६ | रासस

काठमाडौं - भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उहाँ परलोक हुनुभएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुएको थियो । 

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनुभएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुभयो । नेपालमा छापाखाना भित्र््याएको श्रेय समेत उहाँले नै पाउनुभएको छ । 

उहाँका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भट्ट नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुनुहुन्छ । 

आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गर्नुभएको रामायणको पाण्डुलिपी खोजी उहाँले नै विसं १९४१ मा प्रकाशन गराउनुभएको थियो । भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुनुहुन्छ । यससम्बन्धी अनुसन्धान हुन बाँकी नै रहेको पद्मकन्या बहुमुखी क्याम्पस नेपाली विषयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया