बैतडीका ५० वडा सचिवविहीन

 भदौ २४, २०७५ आइतबार ११:४१:११ | रासस
unn.prixa.net

बैतडी – स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन् ।

स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ । बैतडीका ८४ वडामध्ये ५० वडा सचिवविहीन रहेका छन् । वडामा सचिव नहुँदा निकै समस्या भएको छ । 

दशवटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिनुभयो । वडा कार्यालयमा सचिव नहुँदा वडाबाट दिने सेवा प्रभावित भएका छन् उहाँले भन्नुभयो, “वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन्” पञ्चेश्वर गाउँपालिका ६ वडामध्ये चारवटा सचिव नभएका गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।

यस्तै मेलौली नगरपालिकाका नौवटा वडामध्ये छ वडामा सचिव नभएका नगरपालिकाका उपप्रमुख राधा ओझाले बताउनुभयो । वडामा सचिव नहुँदा नागरिकले चाहेअनुसारको सेवा पाएका छैनन् उहाँले भन्नुभयो, “सचिव नहुँदा वडा कार्यालयले प्रदान गर्ने सेवा जनताले सहज तरीकाले पाउन मुस्किल भएको छ ।”

यसैगरी पुर्चाैंडी नगरपालिकाका–१० वडामध्ये ९ वडामा सचिव नभएका नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन्” यसैगरी पाटन नगरपालिकामा पनि १० वडामध्ये पाँच वडामा सचिव नभएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले बताउनुभयो । 

दोगडाकेदार गाउँपालिका–८ वडामध्ये तीन वडामा सचिव नभएका गाउँपालिकाका नायब सुब्बा शेरसिंह विष्टले जानकारी दिनुभयो । यस्तै डिलाशैनी गाउँपालिकामा सात वडामध्ये चार मा सचिव नभएका प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव जोशीले जानकारी दिनुभयो । 

कर्मचारी अभावमा यहाँका स्थानीय तहमा कामकाजमा समस्या भएको र सरकारसँग कर्मचारी पठाउन पटकपटक आग्रह गरेको भए पनि हालसम्म पनि पदपूर्ति हुन नसकेको जिल्ला समन्वय प्रमुख सिद्धराज भट्टले बताउनुभयो । 

जनप्रनिधि आइसकेपछि सहजैरुपमा घरदैलोमै सहजरुपमा सेवा पाउने आश गरेका नागरिक निरास हुँदै गएका छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया