उत्तर कोरियाले यसरी मनायो ७० औँ स्थापना दिवस, तर परेडमा क्षेप्यास्त्र देखाइएन

 भदौ २४, २०७५ आइतबार १३:१३:३२ | रासस

उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यांक र तोपसहित हजारौं सैनिकले मार्चपास गरेका छन् । 

उत्तर कोरियाली नेता किम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनियाँ राष्ट्रपतिका कुटनीतिक प्रतिनिधिले समेत नेता किमसँगै मार्चपास गर्ने सैनिकले चढाएको सलामी ग्रहण गरेका थिए । 

दोस्रो विश्वयुद्ध समाप्त हुनैलाग्दा कोरियाली द्वीपलाई विभाजन गरी ७० वर्षअघि रुस र अमेरिकाले सेप्टेम्बर ९, १९४८ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) स्थापना भएको घोषणा गरेका थिए । 

एक्काइस तोपको सलामी पश्चात् किम इल सुङ स्क्वाएर छिचोल्दै दर्जनौं सैनिक टुकडीले मार्चपास गरेको थियो । सैनिकहरुमध्ये केहीले नाइट–भिजन चश्मा लगाएका थिए भने केहीले रकेटयुक्त ग्रिनेड लन्चर बोकेका थिए । यी आधुनिक हतियार सहितको मार्चपासलाई नेता किमसहितका विशिष्ट व्यक्तिले रोष्ट्रमबाट अवलोकन गरेका थिए । 

नेता किमसँगै चिनियाँ प्रतिनिधि एवं चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो स्थायी समितिका सदस्य ली झाङ्सु रहेका थिए । उनीहरु दुवैबीच समयसमयमा कुराकानी भएको देखिन्थ्यो । 

मार्चपासमा सैनिक बाहन, रकेट लन्चर्स र ट्याङ्कहरुको लाइन अघि बढेको थियो । आकाशमा सैनिक विमानले आतिसबाजी देखाएका थिए । अन्त्यमा, क्षेप्यास्त्रहरु देखाइएको थियो । त्यहाँ जहाज विध्वंसक क्रुज क्षेप्यास्त्र जडित कुम्सोङ–३ र जमिनबाट हावामा मार हान्ने पोन्गे–५ देखाइएको थियो ।  

तर मार्चपासमा गत वर्ष पहिलोपटक परीक्षण गरिएका संयुक्त राज्य अमेरिकासम्म मार हान्न सक्ने ह्वासोङ–१४ र १४ क्षेप्यास्त्र प्रदर्शन गरिएन । 

‘उत्तर कोरियाले सैनिक क्षमतालाई नियन्त्रणमा राख्न चाहेको देखिन्छ । उत्तर कोरियाले आणविक निःशस्त्रीकरणमा देखाएको प्रतिबद्धता स्वागतयोग्य छ र यसलाई सबैले प्रोत्साहित गर्नु पर्दछ’, कोरिया जोखिम समूहका व्यवस्थापन निर्देशक चाड ओक्यारोलले भन्नुभयो । 

सैनिक मार्चपास सकिएलगत्तै हजारौं नागरिकले कोरिया एकीकरणको आग्रह गरिएका प्लेकार्ड सहित रंगीबिरङ्गी पहिरनमा प्रस्तुतीकरण गरेका थिए । 

अप्रिलमा किमले उत्तर कोरियाको आणविक विकासको काम समाप्त भएको घोषणा गर्नुभएको थियो । उहाँले समाजवादी आर्थिक विकासमा ध्यान दिइने जानकारी पनि दिनुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Kshitiz

    Sept. 9, 2018, 1:29 p.m.

    N.Korea is Brave Nation.

  •  0 Reply

तपाईको प्रतिक्रिया