छक्का पञ्जा तीन : संजोग इन, पुष्प आउट

 जेठ २०, २०७५ आइतबार १६:३७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – छक्का पञ्जा ३ सिनेमाबाट अभिनेता पुष्प खड्का बाहिरिएका छन् ।

उनको ठाउँमा अभिनेता संजोग कोइराला आएका छन् । सिनेमाको छायाँकन शुरु भएपछि पुष्पले सिनेमामा काम नगर्ने बताएपछि सिनेमाको छायांकन सञ्जोगले गरिसकेका छन् । सिनेमामा अनुबन्धित भइसकेका अभिनेता पुष्प खड्काले सिनेमा नगर्ने बताएपछि संजोगलाई लिएको निर्माण पक्षले बताएको छ ।

पहिले सिनेमाको भूमिका सुनेर खेल्न तयार भएका पुष्प पछि उक्त भूमिका निर्वाह गर्नबाट पन्छिए । अभिनेता पुष्पले भने आफूलाई सिनेमाको स्कृप्ट नमिलेका कारण सिनेमामा काम नगरेको बताएका छन् ।

‘छक्का पञ्जा तीन’ को छायाँकन पोखरामा भैरहेको छ । छायाकंनका लागि अभिनेत्री स्वस्तीमा पनि पोखरा पुगेकी छिन् । यसअघि निर्माण पक्षले सिनेमामा स्वस्तीमा हुने नहुने बारेमा नबोले पनि सिनेमामा स्वस्तीमा भएको बुझिन्छ । पोखरामा दीपाश्री निरौला, केदारप्रसाद घिमिरेसँगका केही पल उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी छिन् । जसले उनी ‘छक्का पञ्जा तीन’ को छायाकंनका लागि पोखरा पुगेको पुष्टि गर्छ ।

अर्की अभिनेत्री वर्षा राउत पनि सिनेमाको छायांकनमा पोखरामै छिन् । यसका अलावा दीपकराज, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरेलगायत कलाकार छायाँकनमा छन् । यो सिनेमा फूलपातीको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया