चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

 भदौ २४, २०७५ आइतबार १६:४५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनु भएको छ । 

अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटवार्ता गरी आइतबार स्वदेश फर्कनु भएको हो । उहाँले त्यस क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ आफ्नो भारत भ्रमण सफल रहेको दावी गर्नुभयो । 

भारतसँग विगतमा गरिएको सहमति कार्यान्वयनका लागि आवश्यक वातावरण बनाउन आफूले गरेको भ्रमण सफल रहेको अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले भारत बसाईका क्रममा प्रधानमन्त्री मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नु भएको थियो । भेटमा भारतीय नेताहरुले नेपालको समृद्धि र विकास चाहेको आफू पाएको पनि अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले नेपालमा बलियो सरकार बनेकोमा भारतीय नेतृत्व खुसी रहेको अनुभूति पनि सुनाउनुभयो ।

एक अर्को प्रसंगमा अध्यक्ष दाहालले मन्त्रीमण्डल हेरफेरको विषय प्रधानमन्त्री केपी ओलीले भने अनुसार नै हुने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले ‘मन्त्रीमण्डल हेरफेर नगर्ने’ भनि दिएको अभिव्यक्तिबारे सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि उहाँले प्रधानमन्त्रीको भनाई अनुसार नै मन्त्रीमण्डल हेरफेरको विषय अघि बढने प्रतिक्रिया दिनु भयो ।

अध्यक्ष दाहालले वृद्धभत्ता नबढाएकोमा जनगुनासो बढदै गएपछि आफूले त्यसलाई व्यवस्था गर्न पुरक बजेटको कुरा प्रधानमन्त्री ओलीसँगै उठाएको बताउनुभयो । उहाँले संविधान, कानुन र राजनीतिक रुपमा पनि जनताको गुनासोलाई सम्बोधन गर्न सरकारले आवश्यक महसुस गरे पुरक बजेटमार्फत वृद्ध भत्ता बढाउने निर्णय लिन सक्ने पनि स्मरण गराउनुभयो । 

अध्यक्ष दाहाल आगामी असोज एक गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले दुवै देशसँग विगतमा गरिएका सहमति कार्यान्वयनको वातावरण बनाउन आफूले दुवै देशको भ्रमण गर्न चाहेको स्पष्टिकरण दिँदै आउनु भएको छ ।  
 


 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया