अर्थ समितिको बैठक : उपस्थितभन्दा गयल सांसद धेरै, केहीले अन्तिममा आएर हाजिर गरे

 भदौ २४, २०७५ आइतबार १७:६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा जस्तै सांसदहरु संसदीय समितिमा पनि अनुपस्थित हुन थालेका छन् । 

आइतबार राष्ट्रिय योजना आयोगको प्रगति र योजनाका बारेमा छलफल गर्न अर्थ समितिको बैठक बसेको थियो । विहान ११ बजे सिंहदरबारमा भएको बैठकमा समितिमा भएकामध्ये आधा सांसद पनि बैठकमा पुगेनन् । अर्थ समितिमा २५ जना सांसद रहेकोमा बैठक सकिने बेलासम्म जम्मा १२ जना सांसद पुगेका थिए । 

जम्मा ५ जना मात्रै सांसद उपस्थिति भएपछि समितिको सभापतिको जिम्मेवारी पाएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले ११ बजे नै बैठक सुरु गर्नुभएन । केहीबेरमा ३ जना सांसद थपिएर ८ जना पुगेपछि बिहान साढे ११ बजे बैठक सुरु भएको थियो । बैठकमा २५ जना सांसदमध्ये जम्मा ८ जना सांसद मात्रै बैठकमा थिए । तर बैठक सकिने बेलातिर थप ४ जना सांसद आए, हाजिर गरे, एकैछिनमा बैठक सकियो र गए ।

अर्थ समितिमा भएका सांसदहरु 

किशोरसिंह राठौर, कुमारी तुल्सी थापा, घनश्याम भुषाल, चुडामणि खड्का, जयकुमार राई, जुली कुमारी महतो, निरादेवी जैरु, प्रमिला राई, बाबुराम भट्टराई, महन्थ ठाकुर,  महेश बस्नेत, मेटमणी चौधरी, मोतीलाल दुगड, रामकुमारी झाँक्री, रामबाबुकुमार यादव, विजयकुमार गच्छदार, विष्णु पौडेल, शशांक कोइराला, श्याम श्रेष्ठ, सत्या पहाडी,  सरवत आरा खानम,  सुरेन्द्र पाण्डे, हरिराज अधिकारी,  हेमकुमार राई र ज्ञानेन्द्रबहादुर कार्की ।

बैठकमा उपस्थित सांसदहरु 

कुमारी तुल्सी थापा, घनश्याम भुसाल, निरादेवी जैरु, प्रमिला राई, मेटमणि चौधरी, रामकुमारी झाँक्री, रामबाबुकुमार यादव, श्यामकुमार श्रेष्ठ, सरवत आरा खानम हलवाइनी, सुरेन्द्रप्रसाद पाण्डे र हरिराज अधिकारी ।

‘केही सांसद हाजिर गर्नकै लागि आउँछन्’

संसद सचिवालयका एक कर्मचारीका अनुसार केही सांसद हाजिर गर्नकै लागि पनि समितिको बैठकको अन्तिममा पुग्ने गरेका छन् । समितिको बैठकमा पुगेका सांसदलाई भत्ताको व्यवस्था गरिएको छ । 

अन्तिममा पुगेर भए पनि हाजिर गरेर सांसदहरुले भत्ता सुरक्षित गरेको कर्मचारीको भनाई छ । ‘बैठकको अन्तिममा आएर हाजिर गरेर जाने सांसदहरु पनि हुनुहुन्छ, सुरुमा किन आउनुहुन्न कुन्नि, हामीले सोध्न पनि मिल्दैन’, एक कर्मचारीले भने । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया