जब सर्बियाका राष्ट्रपतिलाई कोसोभोमा यसरी बाटो छेकियो...

 भदौ २४, २०७५ आइतबार १७:२१:३० | रासस
unn.prixa.net

कोसोभोका अल्बानियालीहरुले आइतबार पूर्व सर्बियाली प्रान्तमा सर्बियाका राष्ट्रपतिले गर्न लागेको भ्रमणका क्रममा सडक बन्द गर्नुका साथै सडकमा टायर बालेर अवरोध सिर्जना गरेका छन् । परस्पर विरोधी दुई बाल्कन समुदायबीच यसले तनाव सिर्जना गर्ने सम्भावना बढेको छ । 

दुई दिने भ्रमणमा सर्बिया आएका राष्ट्रपति अलेक्सान्डर भुसिचले सर्बियाली नागरिक बसोबास गर्ने सेन्ट्रल कोसोभोमा आइतबार भ्रमण गर्ने कार्यक्रम थियो । तर राष्ट्रपति हिँड्ने सडकमा अल्बानियलीहरुले काठका मुडा, ट्रक र ठूल्ठूला मेसिनहरु तेस्र्याएका थिए । 

भुसिच र उहाँको टोलीलाई ड्रेनिका क्षेत्रमा पुगेपछि कोसोभो प्रहरीले रोकेको थियो र सुरक्षाको कारण देखाउँदै अघि बढ्न दिइएको थिएन । कोसोभोका प्रधानमन्त्री रामुश हाराडिनाजले ड्रेनिका क्षेत्रमा सर्बियाली राष्ट्रपतिको प्रस्तावित भ्रमणका बारेमा विदेश मन्त्रालयले दिएको अनुमति रद्द गरेको जानकारी दिनुभएको छ । 

प्रधानमन्त्री रामुशले फेसबुकमा लेख्नुभएको छ, ‘नागरिकको सुरक्षा नै हाम्रो पहिलो दायित्व हो ।’

सर्बियाली सञ्चार माध्यमले गोली चलेको आवाज समेत सुनेको लेखेका छन्, तर त्यसलाई स्वतन्त्र रुपमा पुष्टि गर्न सकिएको छैन । भुसिचमाथि भने कुनै आक्रमण भएको छैन । 

‘म कसैको द्वेषबाट विचलित भएको छैन । तर कोही यति निच व्यवहार गर्दछ, र त्यस्तो सोच्दछ भने तिनीहरु गलत छन्’, भुसिचले भन्नुभयो । ‘अहिले, म शान्ति स्थापित गर्न अझ बढी प्रतिबद्ध छु, तर कोसोभोमा रहेका सर्बियाली संस्था र सर्बियाली नागरिकको सुरक्षाका लागि पनि उत्तिकै ध्यान दिनेछु ।’

सर्बियाली गृहमन्त्री निबोज्सा स्टेफानोभिकले कोसोभो स्वतन्त्रता सेनाका एक पूर्व सिपाहीमाथि गरिएको व्यवहार उचित नभएको बताउनुभयो । कोसोभोको स्वतन्त्रताका लागि सन् १९९८–९९ मा भिषण युद्ध भएको थियो । 

नेटोको हस्तक्षेपपछि मात्र उक्त द्वन्द्व समाप्त भएको थियो । यही हस्तक्षेपका कारण कोसोभोबाट सर्बिया पछि हटेको थियो । कोसोभोलाई एकपक्षीय रुपमा सन् २००८ मा स्वतन्त्र राष्ट्र घोषणा गरिएको थियो र सर्बियाले अझै पनि कोसोभोलाई मान्यता दिएको छैन । 

गृहमन्त्रीले कोसोभोको सुरक्षा व्यवस्था कमजोर रहेको बताउनुभयो । उहाँले भुसिचको सुरक्षाकर्मीमाथि गोली चलाइएको समेत विवरण प्राप्त भएको बताउनुभयो । यो घटनाले सर्बियालीहरुलाई कोसोभामा स्थानीयबासी स्वागत गर्न तयार नरहेको सङ्केत गरेको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया