सिण्डिकेटविरुद्ध नागरिकले बोले : सर्खार, गाउँगाउँमा गाडी पठाइदेउ

 बैशाख २१, २०७५ शुक्रबार १८:३३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर, वैशाख २१ –यातायात व्यावसायीले सार्वजनिक यातायातका साधन बन्द गरेपछि ग्रामिण क्षेत्रका बासिन्दाले सास्ती भोग्नु परेको छ । 

भक्तपुरका ग्रामीण क्षेत्रमा समेत सार्वजनिक यातायातका साधन सञ्चालन गर्दै आएका भक्तपुर मिनिबस सेवा समिति, मध्य उपत्यका बस व्याबसायी समिति, मध्यपुर यातायात समन्वय समिति, उत्तरपूर्वी बस व्यवसायी समितिलगायतले सार्वजनिक यातायात सञ्चालन नगर्दा ग्रामीण भेगका बासिन्दाले सास्ती खेप्नु परेको हो ।

भक्तपुरका ग्रामीण क्षेत्रमध्ये सिरुटार, बिरुवा, दधिकोट, गुण्डु, सिपाडोल, ताथली, सुडाल, नगरकोट, छालिङ्ग, झौखेल, दुवाकोट, चाँगुनारायण क्षेत्रका बासिन्दाले घण्टाैँ पैदल यात्रा गर्नु परेको छ । 

अरनिको राजमार्गमा साझा यातायात, मयूर यातायात, अन्नपूर्ण यातायात लगायत कम्पनीका बसले सेवा दिए पनि ग्रामीण क्षेत्रमा सेवा दिने यातायातका साधन नभएपछि ग्रामीण क्षेत्रका बासिन्दाले पैदल नै यात्रा गर्नुपरेको हो । 

ग्रामीण क्षेत्रका बासिन्दालाई दूध र तरकारी बजारसम्म बिक्रीका लागि ल्याउन समस्या परेको बताएका छन् । 

चाँगुनारायण नगरपालिका –९, ताथलीका सन्तोष थापाले सरकारसँग कम्पनीका बस गाउँ गाउँसम्म सञ्चालन गराउन माग गर्नुभयो । मध्य उपत्यका बस व्यवसायी समितिले च्यामसिंह, ताथली तथा नालासम्म बस सेवा संचालन गर्दै आएकोमा उक्त बसले सेवा बन्द गरेपछि स्थानीय कार्यालय, विद्यालय र बजार जान समस्या परेको भन्दै सिण्डिकेट गर्ने व्यवसायी बिरुद्ध कम्पनीका बसलाई गाउँ गाउँसम्म पठाउन सरकारसँग माग गर्नुभयो । 

चाँगुनारायण नगरपालिका -१, दुवाकोट सरस्वतीखेलका अस्मिता खड्काले साझा बस, मयूर यातायातलाई गाउँमा स्वागत गर्न आतुर रहेको बताउँदै भन्नुभयो–‘सर्खार सिण्डिकेटले वाक्क भयौं, समितिका बसको मनोमानी सहनै गाह्रो भो, साझा बस र अरु कम्पनीका बस पनि हाम्रो गाउँमा पठाइदेउ, हामी स्वागत गर्न आतुर छौँ ।’

यता सूर्यविनायक नगरपालिका –१, सिरुटारका गोपाल पराजुलीले कौशलटार हुँदै बालकोट–बिरुवा सडकमा साझा वा मयूर यातायात ल्याउन माग गर्नुभयो । यहाँ चल्ने एउटा समितिको मात्रै बस र बालकोट–कलंकी जाने माइक्रोबसको सिण्डिकेटले जनता वाक्क भएको बताउँदै उहाँले यसक्षेत्रमा कम्पनीको बस पठाउन माग गर्नुभयो ।

केही दिन सडकको अवस्था बुझ्न गएको मयूर यातायातको बसलाई यहाँका यातायात व्यवसयाीले बालकोटबाटै फर्काइदिएको बताउँदै उहाँले जनताले सुरक्षा दिन तयार भएकाले कम्पनीका बसलाई रुट इजाजत दिएर पठाउन माग गर्नुभयो । 

सूर्यविनायक नगरपालिका –८, सिपाडोलमा पनि कम्पनीको बस पठाउन स्थानीयले माग गरेका छन् । अरनिको राजमार्ग डोलेश्वरसम्म जाने बसले मनोमानी गरेको र समयमा बस सेवा संचालन नगर्दा विगतमा सास्ती पाएको बताउँदै स्थानीय कमल कार्कीले कम्पनीका बस पठाउने भए आफूहरु केही दिन हिँड्न तयार भएको बताउनुभयो । 

यता पर्यटकीय स्थल नगरकोटमा सार्वजनिक यातायात नचल्दा स्थानीयले सास्ती खेप्नु परेको बताउँदै खरिपाटीका पंकज खड्काले विकल्पमा साझा वा मयूर यातायातको बस पठाउन सरकारसँग माग गर्नुभयो । उहाँले गाउँका बासिन्दाको चाहना यस्तै भएकाले सिण्डिकेट तोडेर अरु बस पठाउन माग गरेको बताउनुभयो । 

गाउँगाउँमा नयाँ कम्पनीका बस संचालन हुने भए यातायात व्यावसायीको सिण्डिकेटविरुद्ध जनता ओर्लन तयार भएको ग्रामीण क्षेत्रका बासिन्दाले बताएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया