भ्रष्टाचारमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिइंदैन : मुख्यमन्त्री भट्ट

 जेठ २०, २०७५ आइतबार १७:९:२९ | विमल बिष्ट
unn.prixa.net

डोटी – प्रदेश–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्तिलाई सरकारले उन्मुक्ति नदिने बताउनु भएको छ ।

डोटीको दिपायलमा आइतबार प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो कुरा बताउनुभएको हो ।

बिगतमा जस्तो कृत्रिम योजना बनाउने अनि केही मान्छे मिलेर भ्रष्टाचार गर्ने कुरा प्रदेश सरकारले नसहने बताउँदै उहाँले भ्रष्टाचार गर्ने जो केहीलाई पनि कानुनी दायरामा ल्यायरै छोड्ने दाबी गर्नुभयो ।

कुनै पनि प्रकारको भ्रष्टाचार भएको छ भने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा रहेको टोल फ्रि नं. १६६०९१५२७२३ मा सिधै फोन गर्न आग्रह गर्दै उहाँले थप भन्नु भयो,–‘हामी भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको सिद्धान्त अंगीकार गर्छौ, फोन गर्नुहोस्, कारवाही हुन्छ ।’

त्यस्तै उहाँले स्थानीय तहका जनप्रतिनिधिहरु पनि भ्रष्टाचारमा संलग्न भएको भन्ने गुनासाहरु सुनिन लागेकोप्रति दुःख व्यक्त गर्दै प्रश्न गर्नुभयो,‘जनताको सेवा गर्छौं भनेर जनतासँग भोट मागेर आएकाहरुले समेत भ्रष्टाचार गर्न थालेपछि यो देशको अवस्था के होला ?’

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले बिगतका जस्तो भनसुनका आधारमा कुनै पनि योजना नबनाइने दाबी गर्नु भएको छ । भट्टका अनुसार बिगतका दिनहरुमा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरु र कर्मचारीहरुलाई भनेपछि योजना पास हुने चलन थियो ।

उहाँले केही कर्मचारीहरुलाई संघीयता नपचेकाले उनीहरु जनप्रतिनिधिहरुलाई समेत अप्ठेरोमा पार्न खोजिरहेको आरोपसमेत लगाउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया