खोटाङमा चिया खेतीका लागि सम्भाव्यताको अध्ययन

 भदौ २४, २०७५ आइतबार १७:५८:४३ | उज्यालो सहकर्मी

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा चिउरीडाँडाको माथिल्लो क्षेत्रमा व्यवसायीकरुपमा चिया खेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । 

खावाडाँडा, चैते र दुधिलेलगायतका खाली जग्गामा व्यवसायिक रुपमा चिया खेती लगाउनका लागि वडा कार्यालयको पहलमा सम्भाव्यता अध्ययन गरिएको हो । चिया खेतीको सम्भाव्यतालाई ध्यानमा राखेर राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको क्षेत्रीय कार्यालय बिर्तामोड झापाको प्राविधिक सहयोगमा चियाको सम्भाव्यता बारे अध्ययन गरिएको वडाध्यक्ष लिला चौहानले बताउनुभयो । 

चिया खेतीमार्फत वडाको सम्वृद्धिका लागि गठन गरिएको चिया उत्पादन समूहमा आवद्ध किसानलाई चिया खेतीसम्बन्धी प्राविधिक एवम् सैद्धान्तिक ज्ञानबारे जानकारी दिएपछि चिया खेतीका लागि छानिएको क्षेत्रको भौगोलिक अवस्थाका विषयमा स्थलगत अध्ययन गरिएको छ । 

निरीक्षण–अवलोकनका क्रममा त्यो जग्गामा विशिष्ट गुणस्तरको चिया उत्पादन गर्न सकिने सम्भावना देखिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालयका चिया प्राविधिक नवीन कोइरालाले बताउनुभयो । प्रारम्भिक रुपमा २० रोपनी जग्गामा लगाइने चिया खेती क्रमशः विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ । 
चिया खेतीको सम्भावनालाई पुष्टि गर्नका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालयले ल्याव टेष्टका लागि माटो लिएर गएको छ ।

दोर्पा चिउरीडाँडामा टि–टुरिजमको सम्भावना समेत उत्तिकै देखिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालयका प्रशासन सहायक मिनबहादुर लिम्बूले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया