टिकापुर घटनाका वादी र प्रतिवादी साक्षीसहित अदालतमा

 भदौ २४, २०७५ आइतबार १८:२२:३८ | नेत्र शाही
unn.prixa.net

कैलाली – टीकापुर हत्याकाण्ड घटनाका वादी–प्रतिवादी साक्षीसहित जिल्ला अदालत कैलालीमा पहिलो पटक उपस्थित भएका छन । 

घटना भएको तीन वर्षपछि साउन ३० गते भएको पहिलो पेशीमा जिल्ला अदालतले वादी–प्रतिवादीलाई साक्षी लिएर आउन दिएको आदेश अनुरुप आइतबार वादी–प्रतिवादी साक्षी लिएर अदालतमा हाजिर भएका हुन । 

अदालतका अनुसार आइतबार वादीतर्फका ३५ र प्रतिवादीका तर्फबाट ५० जनाले अदालतमा उपस्थित भएर हाजिरी गरेका छन । अदालतका शाखा अधिकृत नारायण ओझाले वादी–प्रतिवादीका गरी ८५ जनाले आइतबार अदालतमा हाजिर गरेको जानकारी दिए । 

अदालतलमा आइतबार हाजिर नभएका कारणसहित आएमा यसपछि पनि हाजिरी गर्न पाउने अदालतले जनाएको छ । त्यस्तै साक्षीको बयान लिन आवश्यक ठानेमा हाजिर नभएकालाई पनि अदालतमा बोलाइने बताइएको छ । 

आइतबार हाजिर भएका साक्षीहरुको बयान लिने कार्य सुरु गरिएको छ । आइतबार ३ जना वादी अर्थात मुद्धा दिने पक्षको बयान लिइएको छ । दिपक न्यौपाने, राधा बोहरा र जंगबहादुर साउदको बयान लिइएको हो । बयान लिने कार्य असोज १२ गतेसम्म चल्ने समेत उनले जानकारी दिए । 

यसपछि दैनिक ५ जनाको दरले बयान लिने कार्य गरिने र त्यसैअनुसार तारेख तोकेर प्रत्येक दिन बयानका लागि पाँच जनालाई बोलाइने अदालतका श्रेष्तेदार इन्द्रबहादुर कठायतले बताउनुभयो ।  उहाँका अनुसार वादी र प्रतिवादीका साक्षीहरुको बयान लिन कम्तीमा १५ दिन लाग्नेछ । 

त्यसपछि नियमित पेशी हुने भएकाले चाँडै मुद्धाको फैसला हुने श्रेष्तेदार उहाँले बताउनुभयो । 

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परि १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो । 

हालसम्म २ नाबालकलाई पोखराको सुधार गृहमा र कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीसहित २६ जनालाई पुर्पक्षको लागि कारागार चलान गरेको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ । घटनामा संग्लन अझै ३२ जना फरार रहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया