रोल्पामा तरुण दलका नेताको गोली हानी हत्या

 भदौ २४, २०७५ आइतबार १९:१२:५१ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको सुलिचौरमा आइतबार बेलुकी गोली चल्दा एक जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको रेस्ट पोइन्ट रेष्टुरेन्ट एण्ड बारमा बेलुकी ५ बजेतिर गोली चल्दा रोल्पा नगरपालिका–२, रेउघाका २९ वर्षीय रोहित पुनको ज्यान गएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताउनुभयो । 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई पक्राउ गरेको छ । उनको साथबाट पेस्तोल र उनले प्रयोग गरेको बा १२ च ७३५२ नम्बरको कार पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

पुनको छातीमा ३ गोली लागेको बताइएको छ । पुन नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष हुन् पक्राउ परेका घर्ती तत्कालीन माओवादी केन्द्र समर्थक रहेको जनाइएको छ । अपराधिक क्रियाकलापमा संलग्न घर्ती यसअघि पनि पटक–पटक जेल परेका थिए । 

राजनीतिक संरक्षणका कारण उनी जेलबाट छुट्ने गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया