हिमाली जिल्ला ताप्लेजुङमा अल्लोको कपडा उत्पादन सुरु

 भदौ २४, २०७५ आइतबार २०:४३:६ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा अल्लोको कपडा उत्पादन सुरु भएको छ । 

सदरमुकाम फुङ्लिङमा रहेको कञ्चनजङ्घा ढाका उद्योगले भर्खरैदेखि अल्लोको कपडा उत्पादन गर्न थालेको हो । 

पछिल्लो समय अल्लो कपडाप्रति सेवाग्राहीको आकर्षण बढ्न थालेपछि यहाँ उत्पादन गर्न थालेको कञ्चनजङ्घा ढाका उद्योगकी सञ्चालक शान्ति मादेन लिम्बूले बताउनुभयो ।

जिल्लामै पहिलो पटक कञ्चनजङ्घा ढाका उद्योगले अल्लोको कपडा उत्पादन गर्न थालेको सञ्चालक मादेनको दावी छ । करिब एक महिना अघिदेखि कपडा उत्पादन गर्न थालेको र अहिले उत्पादित अल्लोको कपडा बिक्रीसमेत गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

फुङ्लिङ नगरपालिका कार्यालयको आर्थिक सहयोगमा महिला जागरण मञ्च नामक स्थानीय एक संस्थाले अल्लो कपडा बुनाइसम्बन्धी एक महिने तालिम सञ्चालन गरेको थियो । कञ्चनजङ्घा ढाका उद्योगमा सञ्चालन गरिएको अल्लो कपडासम्बन्धी तालिममा सीप सिकेका महिलाहरुको सहयोगबाट अहिले कपडा उत्पादन हुन थालेको मादेनको भनाई छ ।

महिला जागरण मञ्चकी अध्यक्ष समेत रहेकी मादेनले अहिले आफ्नो उद्योगबाट ढाकाको कपडासँगै अल्लोको कपडा पनि धमाधम उत्पादन हुन थालेको बताउनुभयो । संखुवासभादेखि अल्लोको धागो आयात गरी उद्योगबाट हाल कपडा उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार अहिले पुरुष तथा महिलाले लगाउने कोटको कपडा उत्पादन गर्दै आएको र एक थान कोटको कपडा चार हजारदेखि पाँच हजार रुपियाँसम्ममा बिक्री हुने गरेको छ ।

अल्लो कपडा उत्पादन हुन भर्खरै सुरु भएको भए पनि खरिदकर्ताले मन पराएको उहाँको भनाइ छ । कोटबाहेक अन्य पोशाकहरुका क्रमशः अल्लोको कपडा उत्पादन गर्दै लैजाने तयारी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले अल्लोको कपडाको बजार माग पनि राम्रै हुने सम्भावना देखेको बताउनुभयो ।

सम्भावना हुँदाहुँदै पनि उद्योगबाट उत्पादित अल्लो तथा ढाकाको कपडाले बजार नपाउने अवस्था सिर्जना भएमा नगरपालिका कार्यालय, घरेलु तथा साना उद्योग विकास लगायतका कार्यालयले सहयोग गर्नुपर्ने उनको बुझाइ छ ।

उद्योग प्रवद्र्धनका लागि जिल्लास्थित घरेलु तथा साना उद्योग विकास कार्यालयबाट तालिम लगायतमा सहयोग पाइरहेको र आपूmहरुले उत्पादन गरेको वस्तु तथा सामग्रीको बजार व्यवस्थामा पनि सहयोग हुने कार्यालयको आश्वासन रहेको उनले जानकारी दिनुभयो ।

उत्पादित अल्लो र ढाकाको कपडा बजार पाएमा राम्रै आम्दानी पनि गर्न सकिने उहाँको भनाई छ । आम्दानीसँगै उद्योगबाट महिलाहरुलाई रोजगारीको व्यवस्था समेत मिलेको छ । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया