प्रहरीले थाल्यो १० किलो सुन तस्करीको अनुसन्धान

 भदौ २५, २०७५ सोमबार ८:३२:३९ | किरण लोहनी
unn.prixa.net

गोरखा – जिल्ला प्रहरी कार्यालय गोेरखाले १० किलो सुन तस्करीको अनुसन्धान थालेको छ । सुन सहित पक्राऊ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान थालिएको हो । 

१० किलो सुन सहित गोरखाको सिर्दिवासबाट शनिबार पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । उनीहरुलाई दुई दिन लगाएर आइतबार राति सदरमुकाम ल्याइएको हो । सिर्दिवासको फिलिम प्रहरी चौकीले नियमित सुरक्षा जाँचका क्रममा शनिबार दिउँसो चुमनुब्री गाउँपालिकाका २ जनालाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा चुमनुब्री गाउँपालिकाको वडा नम्बर ७ का ५८ वर्षका मुटुप लामा र २८ वर्षका लोप्चन पेम्बा रहेका छन् । उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता गरी आजैबाट अनुसन्धान थाल्ने प्रहरी प्रमुख एसपी विमल बस्नेतले बताउनुभयो । उनीहरुले सुन तिब्बतसँग सीमा जोडिएको छेकम्पार नाकाबाट गोरखा भित्र्याएको प्रहरीले अनुमान गरेको छ । 

दुवै जनाले कम्मरमा बाँधेर ल्याएको सुन बरामद गरिएको थियो ।  दुवैको साथबाट ५÷५ थान सुनको ढिक्का बरामद भएको थियो ।  गोरखाको उत्तरी नाका हुँदै सुन तस्करी हुने गरेको सूचनाका आधारमा यो क्षेत्रमा केही महिनायता सुरक्षा निगरानी बढाइएको थियो । साविकको सुरक्षा रणनीतिलाई कायम राख्दै यो क्षेत्रमा थप सजगता अपनाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया