भूकम्प प्रभावितलाई तीन/तीन लाख रुपैयाँको थप प्याकेज आउँदै

 भदौ २५, २०७५ सोमबार ९:२३:५३ | मदन पौड्याल
unn.prixa.net

काठमाडाैं – सरकारले भूकम्प प्रभावितका लागि तीन/तीन लाख रुपैयाँको थप प्याकेज ल्याउने तयारी गरेको छ । सहुलियत ऋणका रुपमा तीन लाख र जीविकोपार्जनका लागि तीन लाख गरी ६ लाख रुपैयाँको ऋण लिन सक्ने गरी प्याकेज घोषणा हुन लागेको हो । 

अहिले भूकम्प प्रभावितले तीन लाख रुपैयाँ अनुदान पाउँदै आएका छन् । यो अनुदान रकमबाहेक पनि छुट्टै ऋण लिन सक्ने गरी अहिले अर्थ मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छलफल र तयारी अन्तिम चरणमा पुर्‍याएको स्रोतले जनाएको छ ।

घर बनाउन तीन लाख ऋण 

यसअघि सरकारले दिने भनेको सहुलियतको तीन लाख रुपैयाँ अहिलेसम्म एक जना पनि भूकम्प प्रभावितले लिन सकेका छैनन् । कार्यविधि नबनेकाले यो योजना अलपत्र परेको हो । कार्यविधि नबन्दा अल्झेर बसेको सहुलियत ऋणलाई कसरी सजिलो गरी दिन सकिन्छ भन्नेबारेमा छलफल भैरहेको प्राधिकरणको उच्च स्रोतले जनाएको छ । 

तीन लाख रुपैयाँ सहुलियत ब्याजदरमा ऋण लिने भूकम्प प्रभावितले घर पुनर्निर्माणका लागि खर्च गर्न सक्नेछन् । तर कुन कुन किस्ता लिएकाहरुले ऋण लिन सक्ने या सबै भूकम्प प्रभावितले नै पाउने भन्नेबारे अहिले छलफलकै चरणमा छ । 

दसैँ तिहारलगत्तै घर पुनर्निर्माणको काम तीव्र हुने भएकाले तत्कालै यो ऋण सुविधाको घोषणा हुने स्रोतले जनाएको छ । भूकम्पका कारण भत्केका ८ लाख ७ हजार घरमध्ये अहिलेसम्म २ लाख ८४ हजार मात्रै घर बनेका प्राधिकरणको तथ्याङ्क छ । भूकम्प प्रभावितले लिने सहुलियत ऋणको ब्याजदरमध्ये केही प्रतिशत सरकारले नै तिरिदिने भएको हो । 

कुनै बैंकले अहिले ८ प्रतिशत ब्याज लिने गरेका छन् । सरकारले ५ प्रतिशत तिरिदिने हो भने भूकम्प प्रभावितले ३ प्रतिशत मात्रै तिरे पुग्नेछ । तर सरकारले यति नै ब्याजदर तिरिदिने भनेर तय भैसकेको छैन । यो ऋण भूकम्प प्रभावितले १० वर्षसम्म तिर्दा हुनेगरी छलफल भैरहेको छ ।

सरकारले भूकम्पलगत्तै घोषणा गरेको शहरी क्षेत्रमा २५ लाख र ग्रामिण क्षेत्रमा १५ लाख रुपैयाँको ऋण सुविधा प्रभावकारी नभएपछि सहुलियत ऋण दिने विषयमा छलफल भएको हो । अहिलेसम्म सरकारले घोषणा गरेको १५÷२५ लाखको ऋण झण्डै १२ सय भूकम्प प्रभावितले मात्रै लिएका छन् ।

जीविकोपार्जनका लागि पनि तीन लाख ऋण

भूकम्पका कारण पशु चौपाया मरेका, कतिको रोजगारीका माध्यम नै बन्द भएका लगायत समस्या समाधान गर्न तीन लाख रुपैयाँ ऋण सुविधा दिन लागिएको प्राधिकरणको उच्च स्रोतले जनाएको छ ।

यो ऋण भूकम्प प्रभावितले रोजगारीका विभिन्न माध्यम जस्तै ब्यापार व्यवसाय, कुखुरा पालन जस्ता आय आर्जनका क्षेत्रमा खर्च गर्नुपर्नेछ । यो ऋणको पनि केही प्रतिशत व्याजदर सरकारले नै तिर्नेबारे छलफल भैरहेको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

4 Comments

  • मनिष श्रेष्ठ

    Feb. 7, 2019, 1:39 p.m.

    भूकम्प प्रभावित भन्नाले ३ लाख पाउने लाभग्राही लाइ मात्र हुने कि १ लाख पाउने प्रवलीकरण लाभग्राही लाइ पनि हुने ?

  •  0 Reply
  • Rohine Raj Mainali

    Sept. 23, 2018, 3:05 p.m.

    Its good news but late to give.

  •  0 Reply
  • Basanta Pradhan-Dolakha

    Sept. 13, 2018, 1:20 p.m.

    सरकार र पुननिर्माण प्राधिकरण खालि भूकम्प पीडितलाई आश्वासन मात्र हुने प्याकेजको कुरा गर्छन , कुरा उठाएपछि पूर्ण रुपमा लागु हुनुपर्छ र गर्नु पर्छ भन्ने लाग्छ मलाई / अब पीडितले घर बनाउन जम्मा जम्मी २ बर्ष बाँकी छ , यदि ५ बर्ष भित्र बनाउने हो भने /तर सरकारले पीडितहरुले घर बनाउने र दोश्रो, तेश्रो किस्ता चाहिं २०७५ पुष र २०७६ असार तोक्ने अनि कसरी हुन्छ र ! यो सहुलियत ब्याजदरको ३ लाख लिन , के जनता कुरेर बस्ने त यो कार्यविधि ल्याउँछ भनेर ???

  •  0 Reply
  • Shreeram banjara

    Sept. 11, 2018, 3:06 p.m.

    भूकम्प पीडितलाई यो ऋणको व्यवस्था पहिले नै गर्नुपर्ने थियो सरकार /गरीब भूकम्पपीडितलाई दिने भनेको ३ लाख ऋणले उनीहरुलाई पुनःनिर्माणको लागि सहज हुनेथियो /पहिला किन कानमा तेल हालेर बसेको ? अहिलेको परिस्थितिमा ३ लाख नै अनुदान दिएपनि केहि घाटा हुनेछैन / भूकम्पपीडितलाई आएको विदेसी राहत अनावस्यक खर्चको रुपमा होइन , केहीमा लगानी गरियोस्/

  •  0 Reply

तपाईको प्रतिक्रिया