उत्तरी नाकामा सशस्त्र प्रहरी खटाउने तयारी

 भदौ २५, २०७५ सोमबार १२:१८:१६ | किरण लोहनी
unn.prixa.net

गोरखा –चीनसँग सीमा जोडिएको गोरखाको दुईवटा नाकामा सशस्त्र प्रहरी खटाउने तयारी गरिएको छ । चुमनुब्री गाउँपालिकाको सामागाउँ र छेकम्पारमा सशस्त्रको सीमा सुरक्षा पोष्ट स्थापना गर्न लागिएको हो ।

जिल्ला सुरक्षा समितिले पोष्ट स्थापनाको निर्णय गरी दुई महिना अघिनै गृह मन्त्रालयमा पठाएको थियो । सोमबार गोरखा आउनुभएका गृहमन्त्री रामबहादुर थापा बादलले पोष्ट स्थापना गर्ने प्रक्रिया चलिरहेको जानकारी दिनुभएको हो । भारततर्फ सीमा जोडिएका नाकाहरुमा सशस्त्र प्रहरी परिचालन हुँदै आएको छ ।

चीनसँग जोडिएका भन्सार नाकाहरुमा पनि सशस्त्र प्रहरी खटिएका छन् । तर गोरखाको चुमनुब्रीका पूरै र धार्चे गाउँपालिकाका केही वडाका बासिन्दाको आउजाउ हुने नाकामा सुरक्षाकर्मी परिचालन भएका छैनन् । सामागाऊँ र छेकम्पारमा प्रहरी चौकी भए पनि सीमा नाकाबाट निकै टाढा रहेका छन् ।

जिल्ला सुरक्षा समितिले उत्तरी भेगकै तीन ठाउँमा प्रहरी चौकी स्थापनाका लागि पनि गृहमन्त्रालयमा प्रस्ताव गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । गोरखा र तिब्बतको सीमानामा स्थापना हुनुपर्ने ३ प्रहरी चौकी लामो समयदेखि कागजमा मात्र सीमित बनेका छन् । प्रहरी चौकी राख्ने निर्णय २१ वर्षअघि नै भए पनि निर्णय कागजमै सीमित बनेको हो ।

रणनीतिक महत्व राख्ने बिही प्रहरी चौकी, चुम्चेत प्रहरी चौकी र ल्हो प्रहरी चौकी कागजमा भने रहेको छ । तीनवटै चौकीमा असईको नेतृत्वमा १० जना प्रहरी रहने व्यवस्था भए पनि अहिलेसम्म चौकी खडा गरी प्रहरी राख्न सकिएको थिएन । गृहले निर्णय गरेमा अब उत्तरी नाकाका यी प्रहरी चौकी स्थापना हुनेछन् । 

सीमामा सुरक्षाकर्मीको उपस्थिति नहुँदा अवैध गतिविधि तथा आवतजावत रोक्न समस्या भएको स्थानीयको गुनासो छ । यद्यपी सीमा क्षेत्रमै पर्ने सामागाउँ, प्रोक र छेकम्पारमा भने प्रहरी चौकी सञ्चालनमा छन् । तर ती चौकीमा पनि दरबन्दी अनुसार प्रहरी छैनन् । प्रहरी कार्यालयको अभिलेखमा सामागाउँमा ३४ नम्बर, ल्होमा ३५ नम्बर, प्रोकमा ३६ नम्बर, बिहीमा ३७ नम्बर, चुम्चेतमा ३८ नम्बर र छेकम्पारमा ३९ नम्बरका जङ्गेपिलर छन् । 

पछिल्लो समय गृहमन्त्रालयले उत्तरी सीमानाकाहरुमा पनि निगरानी बढाउन थालेको छ । चीन हुँदै नेपालतर्फ सुन तस्करी हुने गरेको सुरक्षा विश्लेषणका आधारमा सुरक्षा निगरानी बढाइएको गृहमन्त्रालय स्रोतले बताएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया